नागरिकलाई सुशासनको प्रत्याभूति गराउने उदाहरणीय राष्ट्रसेवकहरुलाई प्रदान गरिने प्रतिष्ठित अवार्ड इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष शर्मिला सुवेदीसहित पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहेका छन् ।
२५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए। पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत, शर्मिला सुवेदीलाई इन्टिग्रिटी वीथ कम्प्यासन अवार्ड दिइएको हो ।
इन्टेग्रीटी आइकन नेपाल २०२४
१. सर्मिला सुवेदी
जनस्वास्थ्य निरीक्षक, आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज–११
पहुँच योग्य सेवाप्रवाह सधै प्राथमिकतामा
सर्मिला सुवेदी हाल नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको इन्चार्जको रूपमा कार्यरत छिन्। आधारभूत स्वास्थ्य केन्द्र २०७७ सालमा खुलेको भए पनि सबै सर्वसाधारणको पहुँचमा पुग्न सकेको थिएन। उक्त स्वास्थ्य केन्द्रको कार्यालय वडा नं. १० र वडा नं. ११ को सिमानामा थियो। वडा नं. ११ का वासिन्दाको पहुँचमा स्वास्थ्य केन्द्र थिएन। विशेष गरी बढी जनसंख्या भएको मुस्लिम समुदायको पहुँचभन्दा पनि धेरै टाढा थियो। त्यसैले पनि स्वास्थ्य केन्द्र जाने सेवाग्राहीको संख्या न्यून थियो। उनले वडाका सबै वासिन्दाको पहुँचमा पुर्याउन स्वास्थ्य केन्द्रलाई बढी जनसंख्या भएको र सबैको पहुँच पुग्ने ठाउँमा सार्न पहल गरिन्। उनकै प्रयासले स्वास्थ्य केन्द्रको भवन सर्न सफल भयो। अहिले स्वास्थ्य केन्द्रको भवन बन्ने क्रममा छ। बन्दै गरेको संरचनालाई पनि कसरी सबैको पहुँचयोग्य बनाउन सकिन्छ भनेर अहिलेदेखि काम गरिरहेकी छिन्।
जुन समुदायलाई स्वास्थ्य केन्द्र प्रति विश्वास थिएन, उनले सम्मान गरे
हाल सर्मिला सुवेदी कार्यरत स्वास्थ्य सेवा केन्द्रका अधिकांश सेवाग्राही मुस्लिम समुदायका छन्। त्यहाँ प्राय महिलाहरू स्वास्थ्य केन्द्र आउन मन गर्दैनथे। जानै परे निजि मेडिकलमा जान्थे। सरकारी स्वास्थ्य केन्द्रप्रति त उनीहरूलाई विश्वास नै थिएन। त्यसमाथि स्वास्थ्य केन्द्र बस्तीभन्दा टाढा थियो। उनीहरूलाई स्वास्थ्य सेवा केन्द्रसम्म ल्याउन पहिले सर्मिला आफैं समुदायमा जान थालिन्। स्वास्थ्यको महत्त्वको बारेमा परामर्श दिन थालिन्। त्यसमा पनि महिला स्वास्थ्यको बारेमा बढी जोड दिइन्। स्वास्थ्य सेवा केन्द्रले दिने सेवाको बारेमा जानकारी दिन थालिन्। समुदायलाई स्वास्थ्य सेवा प्रति चासो बढ्न थाल्यो। विस्तारै समुदायका व्यक्तिहरू स्वास्थ्य केन्द्रसम्म जान थाले। स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा पनि सर्मिला सचेत थिइन्। स्वास्थ्य केन्द्रले दिने सेवाप्रति समुदायको विश्वास बढ्न थाल्यो। दैनिक स्वास्थ्य सेवा केन्द्र आउने सेवाग्राहीको संख्या पनि बढ्न थाल्यो। अहिले सोही समुदायका व्यक्तिहरू स्वास्थ्यसम्बन्धी केहि समस्या आउँदा पहिले स्वास्थ्य सेवा केन्द्रमा जान परामर्श लिन्छन्, अन्त जानुपर्ने अवस्था बाहेक स्वास्थ्य सेवा केन्द्रकै भर पर्छन्। समुदायमा आएको परिवर्तन र स्वास्थ्य सेवा केन्द्रप्रति विश्वास सहजै सम्भव भएको होइन। सर्मिलाको अथक मेहनत, स्वास्थ्य सेवा प्रतिको समर्पण र सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई उनले गर्ने व्यवहारले मात्र सम्भव भएको हो।
केही समय अगाडि सोही ठाउँमा हिन्दु–मुस्लिम समुदाय बीच झडप भयो। सबै तिर डर र त्रास थियो। झडपमा परेर धेरै जना घाइते भएका थिए। कर्मचारी कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण थिएन। तर, सर्मिलालाई त्यसले फरक परेन। उनले दुवै पक्षका घाइतेहरूलाई धैर्यतासाथ उपचार गरिन्। अन्य कर्मचारीलाई पनि धैर्य भएर काम गर्न हौसला दिइन्। समुदायमा त्यसले राम्रो सन्देश दियो। सेवाग्राहीको उनी प्रतिको विश्वास झनै बढेर गयो।]
समुदायलाई स्वास्थ्य केन्द्र पुर्याउन झारफुकको बहाना
उनी जैसपुर स्वास्थ्य केन्द्रमा काम गर्दा पनि त्यो समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना कम थियो। त्यो समुदायमा बालबालिकाहरूलाई ठूलो भएर पेट ठूलो नहोस भनेर चिया र बिस्कुट मात्र खुवाउने प्रचलन थियो। बिरामी पर्दा धामी–झाक्री कहाँ फुक्न लैजाने परम्परा थियो। स्वास्थ्य संस्था जाने त चलन नै थिएन। त्यहाँ पनि उनका सामु समुदायका व्यक्तिहरूलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउनु नै सकस थियो। उनले बिरामी हुँदा धामी–झाँक्री कहाँ लैजादै गरेको नियालिरहेकी थिइन्। समुदायलाई त्यति सजिलै स्वास्थ्य सेवा प्रति विश्वास दिलाउन सकिन्छ भन्ने उनलाई लाग्यो। उनले एउटा जुक्ति निकालिन्। बिरामीलाई धामी–झाक्री कहाँ फुक्न लैजादै गर्दा, आफुलाई फुक्न आउछ भनेर अभिनय गरिन्। बिरामी बालबालिकाहरूलाई फुकेको जस्तो गरी उचाई र तौल नापिन्। त्यसरी नाप्दा बालबालिकाहरूमा कुपोषण देखियो। भएको थाहा पाईन्। त्यसपछि अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई दाल, भात खुवाउन र १५–१५ दिनमा फेरि फुक्न ल्याउनु भनि फलोअपमा बोलाइन्। त्यसरी थाहा नै नदिई उनले बालबालिकाको उपचार गर्न थालिन्। विस्तारै उनीहरूसँग नजिकिन थालिन्। त्यसपछि उनलाई स्वास्थ्य सेवाको बारेमा परामर्श दिन सहज भयो। त्यहि समुदाय स्वास्थ्य सेवा केन्द्र जान थाल्यो। अहिले उनी पहिले आफैले धामी–झाँक्रीको अभिनय गरेको कुरा उनीहरूलाई सुनाउँछिन्। उनीहरूलाई त्यो सम्झेर अहिले रमाइलो लाग्छ।
अनियमितता विरुद्ध सधै कठोर
उनी काभ्रेको मन्डनदेउपुर स्वास्थ्य चौकिमा काम गर्दथिन्। त्यहाँ सामान्य चोटपटक लागेका बिरामी आउँदा पनि धुलिखेल अस्पताल रिफर गर्ने चलन थियो। उनलाई त्यो कुरा अचम्म लागिरहेको थियो। उनले बिरामीको उपचार त्यति गर्न खोज्दा पनि अवरोध गर्ने गरिएको थियो। भित्री कारण के रहेछ भनेर उनले बुझ्न खोजिन्। बुझ्दै जाँदा त्यहाँ निजी एम्बुलेन्ससँग साँठगाँठ गरी घुस लिने गरिएको रहेछ। बिरामीले बिना सित्ती २००० देखि ३००० रुपैयाँसम्म तिर्नु परेको थियो। उनलाई त्यो अनियमितता मन परेन। त्यो भन्दा बढी, कमजोर आर्थिक अवस्थाका बिरामीले निशुल्क पाउनु पर्ने सेवामा पैसा तिर्नुपरेको कुरा उनका लागि असह्य थियो। उनले त्यस विरुद्ध आवाज उठाईन्। दबाव समूहले उनको तलबसमेत रोक्ने प्रयास गरे। तर उनी पछि हटिनन्। उनले समुदायलाई पनि त्यसको जानकारी गराईन्। समुदायले उनलाई साथ् दियो। बिचौलियाहरूको चलखेल त्यहि बन्द भयो। उनले त्यहाँ १० महिना काम गरिन्। छोटो समयमा पनि सेवाग्राहीको मन जितिन्। उनको बिदाईमा सम्मान समारोह पनि आयोजना गरियो। नगरपालिकाले पनि नगद सहित सम्मान गरेर बिदाई गर्यो।
सामाजिक कार्य मार्फत पनि स्वास्थ्य सेवा
सर्मिला सुवेदी स्वास्थ्य संस्था मार्फत मात्र होइन, सामाजिक सेवा मार्फत पनि स्वास्थ्य सेवालाई निरन्तरता दिईरहेकी छिन्। उनको कार्यक्षेत्र नेपालगंजमा थियो। जाजरकोटमा भूकम्प गयो। सबै तिर राहतहरू जुट्न थाल्यो। उनलाई त्यहाँका भूकम्प पीडितको अवस्था कस्तो होला भन्ने कुराले पिरोल्न थाल्यो। उनले आफुलाई रोक्न सकिनन्। त्यसका लागि उनले पालिकासँग समन्वय गरिन्, स्थानीय युवा क्लबसँग सहकार्य गरी जाजरकोटको रामीडाडा गएर भूकम्प पीडितका लागि स्वास्थ्य सेवा केन्द्र स्थापना गरी एक महिनाको अवधिमा खाद्यान्न, लत्ताकपडा र अन्य औषधि सहयोग वितरण गरिन्। उनको यस कार्यको पनि प्रशंसा भयो।
स्वास्थ्य सेवासँगै, समुदाय प्रतिको दायित्व
उनी समुदायमा गएर स्वास्थ्यसम्बन्धी परामर्श दिंदै गर्दा महिला दिदीबहिनीहरूमा उनी प्रति यति विश्वास र भरोसा थियो कि, आफ्नै परिवारलाई भन्न नसकेका समस्याहरू पनि उनलाई सुनाउँथे। एकजना महिलाले २÷३ पटक आत्महत्याको प्रयास गरेकी थिइन्। घर–परिवारमा उनको दिदी बाहेक कसैलाई पनि थाहा थिएन। दिदीले सर्मिलाको बारेमा थाहा पाएपछि भेट्न आईन्। अनलाइन भेटेको उनको केटासाथीले उनको नग्न तस्बिरहरू देखाएर पैसा माग गर्यो। नदिए दाईलाई भनिदिने भन्दै धम्काइरह्यो। यो कुरा थाहा पाएपछि सर्मिलाले सामाजिक संजालबाट ब्लक गर्न र मानसिक रूपमा बलियो हुन परामर्श दिइन्। त्यसपछि उनको दैनिकी सहज बन्यो।
अर्की १६ वर्षीया मुस्लिम समुदायकी बालिकालाई, उसको आफ्नै दाईले हिन्दु केटासाथी भएको थाहा पाएपछि जिउँदै आगो लगाएर ज्यान लिन खोजेको थियो। सर्मिलाले बालिकाको ड्रेसिङ गर्दै गर्दा ती बालिकाको आमालाई के भएको भनि सोध्दा, भित्ताको पछाडीबाट कसैले पेट्रोल लगाएको भनिन्। सोही समयमा बालिकाको मामाले आएर कानमा सुटुक्क प्रहरीलाई उनको केटासाथीले गरेको कुरा भनिदिएको सर्मिलाले सुनिन्। यस केसको छानबिन सुरु भयो। महिला आयोग र प्रहरीले सर्मिलासँग पनि सोधपुछ गरे। सर्मिलाले आफुलाई थाहा भएको सबै कुरा भनिन्। सोही क्रममा उनलाई दबाब र धम्की आए। उनले अदालतमा पनि गएर स्पष्ट ढंगले आफुले जानकारी पाएको सबै कुरा राखिन्। त्यही प्रमाणका आधारमा आरोपीलाई कानुनी सजाय तोकियो।
सर्मिला सुवेदी स्वास्थ्य केन्द्रमा आएका सेवाग्राहीलाई कसरी राम्रो सेवा दिने कुरामा त सचेत छिन् नै, त्यो भन्दा बढी स्वास्थ्य संस्थामा नआउने सेवाग्राहीलाई कसरी स्वास्थ्य संस्थासम्म ल्याउने भनेर काम गर्छिन्। त्यसका लागि समुदायमा आफू कार्यरत स्वास्थ्य संस्थाको गुणस्तरिता प्रमाणित गर्नु पहिलो प्राथमिकता हुन्छ, जुन कुरामा उनी हरेक पटक सफल भएकी छिन्।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:१३