काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पर्वलक्षित बजार अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) गुणस्तरीय भेटिएको पाइएको छ । १३३ वटा (२६.७६ प्रतिशत) मा म्याद सकिएका बस्तु भेटिए । ३११ वटा (६२.५७ प्रतिशत) मा मूल्य सूची नभएको पाइएको छ ।
यस्तै कात्तिक २९ गतेदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेष्टुरेन्टको अनुगमनका क्रममा ५२ वटा व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८ प्रतिशत) मा व्यक्तिगत सरसफाइमा कमी देखियो । ४० वटा (७६.९२ प्रतिशत ) को भान्छा र कार्यस्थलको सरसफाइमा कमी देखियो । १३ वटा (२५ प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइएको छ ।
दुई सयवटा (४०.२४ प्रतिशत ) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएका पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल थिए ।
बिहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य सचिव एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेश गर्दै यस सम्बन्धी जानकारी दिएको हो ।
प्रतिवेदनले उठाएका विषयमा धारणा राख्दै समितिका संयोजक डंगोलले, अनुगमन कार्य कारवाही गर्ने उद्देश्यले नभइ उपभोक्ताले स्वच्छ, सुपथ र सहज सामान प्राप्त गर्ने वातावरणका लागि गरिएको उल्लेख गरे ।
‘कसैलाई कारवाही गर्नु नपरोस् । जरिवाना तिराउनु नपरोस् । यस्तो आदर्श र स्वचालित बजार बनाउन सकियोस् । यसको निगरानीका लागि वडास्तरीय अनुगमन समितिलाई सक्रिय बनाऔँ । क्षमता विकास गराऔँ । साझेदार कार्यालयहरुसँग सहकार्य बढाऔँ । वहुसाझेदार संयन्त्रबाट नतिजाका लागि काम गरौँ,’ उनले भने ।
वैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी, उपभोक्ता अधिकारकर्मीसहित सहभागी थिए ।
उनीहरुले महानगरपालिकाले अनुगमन कार्यलाई तीब्र बनाएपछि अवस्थामा सुधार आएको महसुस भएको उल्लेख गरे ।
‘