काठमाडौं १४ माघ, नेपाली कम्युनिष्ट आन्दोलनलाई आत्मनिर्भरताको पाठ सिकाउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सि व्यापार केन्द्र सञ्चालनमा ल्याएको छ । काठमाडौँको बुढानीलकण्ठमा आज सोमबार औपचारिक उद्घाटन गरिएको व्यापार केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न स्थानमा उत्पादन गरिएका उत्पादनहरु विक्रीमा राखिएका छन् ।
सोमबार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ,नेपाल समाजवादीका गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति थियो।
प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएको र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको छ। व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमी लगायतका वस्तु हुनेछन्। व्यापार केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपछि नेकपाले उत्पादन गरेका धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडा लगायतका वस्तु राखिएको छ । नेकपाको गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले व्यापार केन्द्र खोल्ने निर्णय गरेको थियो।
विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा भन्दा बढी क्षेत्रमा सामूहिक खेती गर्दै आएको छ। अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा नेकपाले खेती गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १६:०८