काठमाडौं । जलवायु परिवर्तन र अव्यवस्थित विकास प्रयत्नका कारण सिमसार क्षेत्र जोखिममा पर्दै गएको छ । सिमसार क्षेत्र जोखिममा परेसँगै पर्यावरण, प्रकृति र प्राणीलाई एकसाथ असर परिरहेको वातावरणविदहरुको तर्क छ ।
आज अर्थात फेब्रुअरी २ ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सिमसार र मानवको कल्याण भन्ने नाराका सन् २०२४ को ‘विश्व सिमसार दिवस’ मनाँइदैछ । समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।
राष्ट्रिय सिमसार नीति, २०५९
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरूमा घर या कारखाना खोलिए होलान् ? प्लटिङ गरेर जग्गा तयार गरिँदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् ? वास्तवमा भन्ने हो भने मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने दुष्चक्रमा परेका छन् ।
यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्तिकै मनमोहक र सुलभ नदेखिन सक्छन् । यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ ।
मिर्गौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । विचार गरौँ । सिमसार क्षेत्र पर्यावरण, औषधि र कन्दमूलमा उपयोगी मानिन्छन् । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरु आइपुग्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।
यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै भयावह छ ।
विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् ।
यी महत्त्वपूर्ण सिमसारको विश्व स्तरमै संरक्षण गर्न सन् १९७१ मा जल पन्छीको वासस्थानसम्बन्धी सिमसार ९राम सार० महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरू सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो ।
त्यसअतिरिक्त सरकारले ‘सिमसार बुद्धिमत्तापूर्ण’ ढङ्गले प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेको छ । सरकारी नीतिअनुरूप, मानव जातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नुपर्दा राम सारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू हुनेछ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गरिनेछ ।
पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छ । यस्ता अधिकांश सिमसार क्षेत्रहरू एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । नीतिअनुरूप राष्ट्रिय स्तरमा समन्वय गर्न सचिव स्तरमै कार्यदल व्यवस्था पनि छ । तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् ।
पोखराका तालहरूलाई नै उदाहरणमा लिउ, हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ ।अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।
आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हैन र रु कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १०:२१