ललितपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वमा ललितपुरको लेलेको सरस्वती कुण्डमा विशेष मेला, पूजा अर्चना गरिएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

ललितपुरको लेलेसँगै उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा मेला पूजा अर्चना गरिएको छ । उपत्यकाको चर्चित गोदावरी ५ लेलेको सरस्वती मन्दिर सम्बन्धि यो प्रसंग ललितपुर पर्यटन दर्पणबाट यहाँ प्रस्तुत गरिएको छ ।

सरस्वती मन्दिर
ललितपुर जिल्लाको मध्य भागमा रहेको प्राचीन रिंगापुर शहर अर्थात साविक लेले गाविसमा रहेको सरस्वती मन्दिर ज्ञानकी देवी अर्थात अधिष्ठात्री मानिन्छ । वर्षेनी सरस्वतीपूजाको दिन विशेष मेला लाग्ने यो क्षेत्रलाई तिलेश्वर धाम पनि भनिन्छ । तिलेश्वरधाम पुग्न लेले चन्दनपुर सडक हुँदै जान सकिन्छ । जिल्ला सदरमुकाम पाटनको लगनखेल बसपार्कबाट ४५ मिनेट नीजि वा सार्वजनिक सवारी साधनमा पुग्न सकिने लेलेको सरस्वती कुण्ड सहितको यो तिलेश्वर धाममा हिन्दू धर्मावलम्बीले विशेष पूजाआजा गर्ने गरेका छन् । अक्षर आरम्भ गराउँदा वालवालिकालाई दर्शन पूजा गराउने गरिन्छ । अझ समयमा बोली नआएको वालवालिकालाई सरस्वती कुण्डको जलमा स्नान गराए सरस्वतीको कृपा पाएर वोली राम्रो हुने भन्ने प्रचलन रहेको छ । सरस्वती कुण्डलाई ज्ञानकुण्डको नामले पनि चिनिन्छ । यो कुण्ड संगै सरस्वतीको मन्दिर रहेको छ । यहाँ हरेक बसन्तपञ्चमी संगै नयाँ वर्षमा मेला लाग्छ । यो मन्दिरसंगै रहेका शिव मन्दिर लगायतका अन्य मन्दिरहरुसमेतको पुननिर्माण गरेर व्यवस्थित आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न संरक्षण समिति, स्थानीय तह लगायतको प्रयास रहेको छ ।

तिलेश्वरधाम
लेले गाविस अर्थात हालको गोदावरी नगरपालिका वडा नं ५ मा रहेको लगनखेल लेले सडकको अन्तिम विन्दू अर्थात लेले बसपार्कमा रहेको तिलेश्वर धाम महत्वपूर्ण धाम हो । किंवदन्तीअनुसार पौराणिक कालमा देवगुरु वृहस्पतिले महादेवलाई संसारको रीतप्रति आकर्षित गराउन यही ठाउँमा तिलको थुप्रो लगाएर महादेवको तपस्या गरे । तपस्यामा बसेको तेस्रो दिन संक्रान्तिमा तिलको थुप्रो शिलामा परिणत भई सोही शिलाले महादेवको स्वरुप धारण गरी दिव्य दर्शन प्राप्त भयो । महादेवले ‘मेरो मात्र आराधना गरेर पुग्दैन, तिल अर्पण गरेर आह्वान गर्दा सरस्वतीको पनि आराधना आराधना गर’ भनेपछि देवगुरुको मन्त्रोच्चारणसहितको आह्वान लगत्तै सरस्वती जलको रुपमा कुण्डभरी फैलिएर प्रकट भईन् । त्यस लगत्तै देवगुरु बृहस्पतिले कुण्डको जल पिए । सरस्वतीले देवगुरु बृहस्पतिको कण्ठमा बास बस्ने गरी अन्तध्र्यान भईन् । शिवको दिव्य रुप अन्तध्र्यान भए लगत्तै शिलामा परिणत भएको तिलको थुप्रो तिलेश्वर महादेवको रुपमा शिवशक्ति स्वरुपले रहे । यसरी यो धामलाई तिलेश्वर धामको रुपमा पुज्न थालियो । 
सरस्वती त्यसपहिले गुरु शुक्राचार्यको कण्ठमा बस्थिन् । आफ्नो कण्ठ छाडी वृहस्पतिको कण्ठमा सरस्वती बस्न थालेपछि शुक्राचार्य रिसाए । उनले श्राप दिए, ‘तिमीले जलका रूपमा यही कुण्डमा बस्नु परोस् ।’ कुरा नबुझी शुक्राचार्यले श्राप दिएपछि सरस्वतीले पनि शुक्राचार्यलाई श्राप दिइन्, ‘तिमीले मेरो बाध्यता बुझेनौ । तिमीले बुद्धिको देवताका रुपमा नभै विर्यको देवताका रुपमा शुक्रकिट भएर जीवको विस्तारमा सहयोग गर्नु परोस्।’
सरस्वतीको श्राप पाएर सेतो वर्णका शुक्राचार्य पहेँलो पानीका रूपमा परिणत भई कुण्ड बन्यो । यस कुण्डलाई ज्ञानकुण्डका रूपमा पुजिन्छ । तिलको थुप्रोबाट शिव उत्पत्ति भएकाले तिलेश्वर महादेव भनियो । सरस्वती जलका रूपमा प्रकट भएकीले सरस्वती कुण्ड र शुक्राचार्य पानीका रूपमा परिणत भएको ठाउँलाई ज्ञानकुण्ड भनियो । सरस्वती कुण्ड रहेका ठाउँका यी पवित्र धार्मिक स्थलहरुलाई एकीकृत गरी तिलेश्वर धामका रुपमा चिनिन्छ ।
सरस्वती कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नवदुर्गा लगायत मूर्ति छन् । देवगुरु बृहस्पतिले समेत तपश्या गरेको स्थान भएकाले ज्ञानकुण्ड र सरस्वती कुण्डको जलले स्नान गरी तिलेश्वरको दर्शन गर्नु अत्यन्तै पावन कार्य र मोक्षप्राप्ती सरह भएको मानिन्छ । सरस्वतिकुण्ड नजिकै उत्तरमा पशुपतिनाथको मन्दिर छ । वाग्मती किनार काठमाडौंको रहेको पशुपतिनाथभन्दा पनि यो मन्दिर पुरानो रहेको मानिन्छ । विसं ५२६ मा स्थापना भएको मानिने यो पशुपति मन्दिरमा शिवरात्री, माघे संक्रान्ति, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको स्वस्थानी पक्ष, बाला चर्तुदशी, साउन, जनै पूर्णिमा र श्रीपञ्चमीमा मेला लाग्छ ।
सरस्वतीकुण्ड तथा तिलेश्वरधामसम्बन्धि प्रसंग अमृतनाथ तिमल्सिनाद्धारा लिखित पुस्तक ललितपुर पर्यटन दर्पणबाट लिइएको हो ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ १९:१७