जनयुद्ध दिवसको अवसरमा विभिन्न स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । फागुन १ गते रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार एक दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको अध्यक्ष अमरसिंह घर्तीमगरद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी उत्सवकै रुपमा मनाउने पालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिनुभएको छ । सुनछहरी गाउँपालिकामा राज्य पक्षबाट १ सय ८२ जना र विद्रोही पक्षबाट २५ जना गरी २०७ जनाले ज्यान गुमाएका थिए ।
यस्तै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पनि फागुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो । माघ २३ गते बसेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै काभ्रेको चौरीदेउराली गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्रका कार्यालय संघसंस्था तथा अत्यावश्यकीय सेवा विदा रहने जानकारी गराएको छ । बुधबार अध्यक्ष रेणुका चौंलागाईले हस्ताक्षर गरी सार्वजनिक सूचना जारी गर्नुभएको छ । यस्तै खोटांग जिल्लाको खोटेहांग गाउँपालिकामा पनि स्थानीय विदाको रुपमा जनयुद्ध दिवसलाई सार्वजनिक विदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । ओखलढुङ्गाको चिसुङ्खुगढी गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विदा दिएको छ ।
२०५२ साल फागुन १ देखि सुरु भएको ऐतिहासिक जनयुद्धका कारण मुलुकमा राजनीतिक परिवर्तन भएको भन्दै २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक विदा दिन सुरु गरेको थियो भने त्यसलगत्तै उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।
रोल्पाको माडी र सुनछहरी, सोलुखुम्बुको थुलुङ दुधकोशी, काभ्रेको चौरीदेउराली, खोटांग जिल्लाको खोटेहांग गाउँपालिका मात्र नभै गुल्मी, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, काभ्रे लगायत माओवादीले जितेका पालिकाले राजनीतिक परिवर्तन स्थापित भएको हुँदा जनयुद्धलाई ऐतिहासिक दिवस मान्दै कार्यपालिकाको निर्णयमार्फत स्थानीय विदा धमाधम दिईरहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १९:४७