अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीले आयोजना गरेको दुई दिने कार्यशालाले नेपाल संस्कृत विश्वविद्यालयको रूपान्तरणका लागि आन्तरिक सुधारसहित सर्वाङ्गिण विकासकेन्द्रित १७ बुँदे संकल्पपत्र तयार गरेको छ । फागुन ९ र १० गते विद्युत प्राधीकरण तालिम प्रतिष्ठान खरिपाटीमा आयोजना गरिएको कार्यशालाबाट संकल्पपत्र तयार पारिएको हो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले शैक्षिक सँस्थाको सुधार विद्यार्थी र शिक्षा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यशालामा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. सुधन पौडेलले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त कार्यपत्र (आधारपत्र) प्रस्तुत गर्नुभएको थियो। कार्यशालामा पौडेल सहित प्रा.डा. भागवत ढकाल, सह प्रा.काशिनाथ पौडेल, प्रा. डा. बिरेन्द्र लाल कर्ण, प्रा. डा. लालमणि पाण्डे, प्रा. डा. मुकुन्द लामिछाने, प्रा. डा. बिष्णु दाहाल, प्रा. डा. रमेश घिमिरे, प्रा. डा. ऋषिराम रेग्मी, प्रा. डा. कृष्णकान्त पराजुलीले विभिन्न ८ सेसनको सहजीकरण गर्नुभएको थियो । छलफलमा विश्वविद्यालयका मूलभूत समस्याहरू पहिचान र समाधानका लागि चतुर आर्यसत्य मोडल अनुरूप संचालन गरिएको थियो।
कार्यशालामा विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो। छलफलका निष्कर्षहरूलाई मूर्त रूप दिन विश्वविद्यालय रूपान्तरणका निम्ति १६ बुँदे संकल्प पत्र तयार पारिएको छ, जसमा विश्वविद्यालयका उपकुलपति लगायत सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले हस्ताक्षर गर्दै विश्वविद्यालय सुधारका निम्ति प्रतिबद्धता जनाएका छन्।
उक्त कार्यशालाबाट तयार पारिएको प्रतिवेदन सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरी विश्वविद्यालय सुधारका लागि आवश्यक पहल गर्ने राष्ट्रिय कमिटि अध्यक्ष अनुप ढुङ्गेलले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १९:४६