नेप्सेम्याकले फोहोरमैला व्यवस्थापनको विषय सबैलाई बुझाईरहेको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजना गरिएको नेप्सेम्याक ग्रुपको वार्षिक सद्भाव भेला, प्रशिक्षण तथा वनभोज कार्यक्रमको उद्घाटन गर्दै नेप्सेम्याकसँगको सहकार्यमा सरसफाई अभियान सञ्चालन गरिरहेका कारण सफा र स्वच्छ नगरपालिका बनाउन सकिएको बताउनुभएको छ । नगरप्रमुख महर्जनले काठमाडौं उपत्यकामा १० दिन फोहोर उठेन भने यहाँको हालत के हुन्छ ? त्यसैले फोहोरमैला व्यवस्थापन बुझौं भन्दै नेप्सेम्याकले अगाडि सारेको अवधारणामा सहमत भएर निरन्तर सहकार्य भएको बबताउनुभयो । जिरो वेष्ट अवधारणामा जान आफू सहमत भएको महर्जनले बताउनुभयो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतले सरकार आफैंले मात्रै पनि वा समुदाय आफैंले मात्रै पनि फोहोरमैला व्यवस्थापनको काम एक्लै गर्न नसकिने भएकाले सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले उपत्यकाका १८ वटा स्थानीय तह मध्ये १२ वटामा आंशिक रुपमा नेप्सेम्याक ग्रुपले कार्य गरिरहेकोमा अहिलेसम्म गुनासोरहित सेवा प्रवाह भएको दावी गर्नुभयो । दाहालले साना साना युनिटमा फोहरमैला व्यवस्थापनमा टेन्डर गर्दा काठमाडौंको फोहर व्यवस्थापनमा समस्या आउन सक्ने तर्फ संकेत गर्दै स्थानीय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट अवधारणामा जानुपर्ने बताउनुभयो ।
नेप्सेम्याक ग्रुप अन्तर्गत रहेका परिवर्तन सेवा प्रा.लि.,नेप्सेम्याक सेवा प्रा.लि.,नेपाल प्रदुषण नियन्त्रण तथा स्वस्थ समाज केन्द्र प्रा.लि.,ग्रीन सिटी सेनिटेसन प्रा.लि.,नेपाल भ्यालि ईन्जिनियरिङ अटो वक्र्श प्रा.लि.,क्लिन काठमाडौं वेष्ट म्यानेजमेन्ट प्रा.लि. समेटिएको नेप्सेम्याक ग्रुपले वार्षिक रुपमा आयोजना गर्ने यो कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कार, रक्तदान कार्यक्रम समेत सञ्चालन भएको थियो । कार्यक्रममा नेप्सेम्याक ग्रुप अन्तरगतका कम्पनिहरुका रहि उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना कर्मचारीहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा चालक पूर्ण सिंह तामाङलाई रु १५ हजार नगद तथा प्रमाणपत्रसहित सर्वोत्कृष्ट सम्मान गरिएको छ । त्यस्तै अन्य सम्मानित हुनुहुनेहरुमा सपना ढुंगाना, राधाकुमारी कटुवाल, नानुमायाँ गुरुङ, पुजा देउला, वीरेन्द्र कुमार चौधरी, जीतबहादुर तामाङ, मनोज कुमार, खेमबहादुर लिम्बु, केवल लिम्बु, संगिता श्रेष्ठ, यमुना पौडेल, जीवन सोराली मगर र उत्तमप्रसाद लामिछाने रहेका छन् । सम्मानितहरुलाई रु सात हजार पाँच रुपैंया नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको ग्रुपका मुख्य सञ्चालक लक्ष्मीप्रसाद गेलालले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १८:३३