स्वास्थ्यका कारण मानव जीवन दिन प्रतिदिन अनेकौं चुनौति र जटीलता भोगिरहेको छ । जीवनशैली व्यवस्थापनका कतिपय त्रुटीहरुका कारण एवम् कतिपय प्राकृतिक विपत्तिजन्य अवस्थाका कारण मानव स्वास्थ्यमा अनेकन संकटहरु देखिइरहेका छन् । असामयिक मृत्यु गराउने प्रमुख केही स्वास्थ्य समस्याभित्र पर्ने एचआइभी र एड्स सचेतनाको अभाव र कतिपय सााजिक तथा साँस्कृतिक अभ्यासहरुका कारण भित्रभित्र भुसको आगो हुन सक्ने समेत देखिएको छ । विश्वमा सन् १९८१ मा पहिलो पटक फेला परेको एचआइभी संक्रमित रिपोर्टदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने ९ करोडको हाराहारीमा मृत्यु भईसकेको छ । झण्डै साँढे ४ करोड मानिस एचआइभी संक्रमण तथा एड्सका कारण मृत्युको मुखमा पुगिरहेका छन् । विश्वमा हरेक दिन थप ४ हजार मानिस एचआइभी संक्रमित हुने गरेको तथ्य छ । दिगो विकास लक्ष्य २०३० ले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य हासिल गर्न सबै खालका प्रयत्नहरु तीव्र बनाएको छ ।
नेपालमा सन् २०१० मा ३४ हजार एचआइभी संक्रमित भएको तथ्यांक भएकोमा सन् २०२२ को अन्तिम रिपोर्ट तयार हुँदा ३० हजार संक्रमित रहेको पाइएको छ । यसरी हेर्दा तथ्यांकमा कमी देखिएको छ । एण्टीरेट्रोभाइरल थेरापी (ब्च्त्) लिईरहेकाहरुको संख्या ७८ प्रतिशत अर्थात २३ हजार ३६२ रहेको छ । वालवालिकामा देखिएकोमा ८० प्रतिशत संक्रमित मातापिताका कारण भएको देखिएको छ । संक्रमितले वालबच्चा जन्माउँदा संक्रमणको हस्तान्तरणले समस्या नयाँ पुस्तामा सनर्से समस्या समेत देखिएको छ । सन् २०२१ मा ५१० व्यक्तिको एचआइभीको कारण मृत्यु भएको थियो ।
नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहको रुपमा सिरिञ्जबाट लागू पदार्थ सेवन गर्नेहरु, असुरक्षित यौनसम्पर्क गर्ने यौनकर्मी पुरुष तथा महिलाहरु र उनीहरुमार्फत परिवारमा फैलिएको पाइएको छ । । रोजगारीका लागि विदेशिएकाहरु पनि संक्रमित हुने गरेको र उनीहरुबाट पनि यो रोग सर्ने गरेको पाइएको छ । कोशी, लुम्विनी र सुदूर पश्चिम प्रदेशबाट रोजगारीका सिलसिलामा भारत जानेहरु पनि संक्रमणको ज्यादा जोखिममा रहेका छन् ।
सन् २०३० सम्ममा एचआइभी एड्स महामारीलाई अन्त्य गर्न नेपाल सरकारले विभिन्न रणनीतिक कार्यक्रमहरुको सञ्चालन गरिरहेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमार्फत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु, सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सन् २०२६ सम्मका लागि अनुमानित वा सम्भावित एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआइभी संक्रमण पुष्टि भएकामध्ये ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिईरहेकाहरुमध्ये ९५ प्रतिशतमा भाइरल लोड सम्प्रेषण हासिल गर्ने, नयाँ एचआइभी संक्रमणलाई सन् २०१० को अनुपातमा ९० प्रतिशतको गतीमा कमी गर्ने र आमाबाट बच्चामा हुने संक्रमणलाई निर्मूल गर्ने लक्ष्य लिएको छ ।
एचआइभी परीक्षण तथा परामर्श, यौनरोगको निदान तथा उपचार, जोखिम न्युनीकरण, कण्डम प्रवद्र्धन लगायतका स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भईरहेको छ । ६१ भन्दा बढी जिल्लाहरुमा एआरटी सेवा सञ्चालन भईरहेको छ । ७७ वटै जिल्लामा एचआइभी एड्स परामर्श तथा परीक्षण केन्द्रहरुमार्फत सेवा प्रवाह भईरहेको छ । गर्भवती परीक्षण सेवा अन्तर्गत सम्पूर्णलाई एचआइभी परीक्षण तथा परामर्श सेवा निशुल्क छ ।
संक्रमणको सामाजिक तथा सांस्कृतिक असरको पक्ष ः
एचआइभी संक्रमण पहिचान तथा रोकथामसंग केही सामाजिक तथा सांस्कृतिक पक्ष पनि सम्बन्धित छ । एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट मात्रै सर्ने रोग होइन तर एचआइभी संक्रमण फेला परेको खण्डमा असुरक्षित यौन सम्पर्कका कारणबाट सरेको भन्ने मनोवैज्ञानिक असर पर्न सक्ने कारणले थुप्रै सम्भावित परीक्षणहरु समेत दायरामा नआइसकेको अवस्था समेत पाइन्छ । कतिपय स्वास्थ्य परीक्षणहरुको प्याकेजमा एचआइभी परीक्षण गराउँदा विरामी स्वयम् वा आफन्तले डाक्टरले प्रेस्क्राइव गरेको स्वास्थ्य परीक्षण प्रति नै अरुची र अस्वीकार गर्ने गरेको घटनाहरुले समेत मानिसहरु सामाजिक रुपमा समेत एचआइभीलाई सम्भावित दुर्घटनाका रुपमा स्वीकार्न र सहज परीक्षणका लागि समेत तयार छैनन् भन्ने देखाउँछ ।
एचआइभी संक्रमणको एउटा प्रमुख कारण कण्डम विना असुरक्षित यौन सम्पर्क पनि हो । यौन आनन्दको सुखानुभूतिका लागि कण्डम विनाको यौन सम्पर्क भन्ने मनोवैज्ञानिक भ्रम पनि संक्रमणको अर्को कारण देखिन्छ । कण्डमको उपलब्धता र प्रयोगप्रतिको सचेतना नहुनु पनि समस्याको अर्को कारण हो । यसर्थ अझै आम रुपमा यसका सम्भावित क्षेत्रहरुमा पुग्न सकेको छैन भन्ने देखिन्छ ।
संक्रमण पहिचान र रोकथाम तथा उपचारका उपाय
एचआइभी परीक्षण सहज र आधारभूत स्वास्थ्य प्याकेजका रुपमा हुनुपर्छ र परीक्षण सर्बसुलभ हुनुपर्छ । अर्को महत्वपूर्ण पक्ष एचआइभी परीक्षण निरोगिताको प्रमाणपत्र जारी गर्ने आधारभूत सूचकमा हुनुपर्छ । यसले गर्दा निरोगिताको प्रमाण लिनुपर्ने सचेत वर्ग, श्रमजीवी वर्ग, कर्मचारी, विद्यार्थीहरु तथा रोजगारी एवम् विदेश जाने व्यक्तिहरु यसको दायरामा आइपुग्छन् । यसरी पहिचानको दायरालाई फराकिलो बनाउने हो भने तीव्र पहिचान हुन्छ । पहिचान भएकै आधारमा उपचारलाई बढाउन सकिन्छ ।