म त परेँ बुढेसकालको छोरो । बुबाको चौधौँ सन्तान । अर्थात परिवारको कान्छो । बुबाका ६ छोरा र आठ छोरीमा सबैभन्दा कान्छो । बुबाभन्दा ५३–५४ वर्ष कान्छो । उमेरका हिसाबले पनि बुबासँगको निकटता दाजू दिदीको भन्दा कमै भयो । अन्यत्रको जस्तो कान्छो भनेर लाडप्यार हाम्रोमा थिएन । सायद त्यस्तो गर्ने फुर्सद् बाबु आमासँग थिएन । बुबा आमाको कमाइ खाने पेशा भनेकै कृषि थियो । परम्परागत कृषि पेशामा न त आम्दानी न त फुर्सद । बुबाले त्यही नियति व्यहोर्नुभयो । धेरै सन्तान भएकाले हो वा जग्गाजमीन धेरै भएकाले हो हामीले पनि सकेको कृषि कर्म गर्नै पथ्र्यो ।
बाबुआमासँग लाडप्यारको समय नै थिएन । मैलेदेखे जानेदेखि बुबाको न त स्वभावमा परिवर्तन पाएँ नत जीउज्यान मा नै । अग्लो कद । खिरिलो ज्यान । जाङमा लगौँटी र शीरमा टोपी कहिल्यै टुटेन । नुहाउने धुवाउनेमा पनि परम्परागत । साबुनको प्रयोग झुक्किएर मात्रै गर्नुभएको होला । नेपाली नागरिकता अनुसार बुबाको जन्म १९८० साल कार्तिक १० गते भएको देखिन्छ । तर, बुबाले हामीलाई भने अनुसार १९९० सालको भुँइचालोमा बुबा ४–५ वर्षको मात्रै हुनुहुन्थ्यो । १९९० सालको भुँइचालोबारे बुबाको सम्झना थिएन । सुनेको कुरा मात्रै गर्नुहुन्थ्यो ।
संसारका धेरै जनाले (केही अपवादबाहेक)आफ्नो बुबाको तारिफ नै गर्ने हुन् । मैले पनि त्यही गरेको ठान्नु होला । त्यो सुविधा त छँदैछ । तर, बुबाको इमान्दारिता कालेश्वरदेखि त्यतिबेलाको प्रमुख सहरहरू लेले र चापागाउँसम्म फैलिएको छ । जुन कुरा अहिले जीवित तर बुबाका भाइपुस्ताले पनि भन्न सक्छन् । बुबाको इमान्दारिता, लगनशीलता, निष्ठा, सरलताप्रति धेरै शब्द नखर्चिकन केही संस्मरण राख्छु । म एसएलसीको तयारीका लागि महालक्ष्मीस्थान नजिकै डेरामा बस्थेँ । केही काम विशेषले बुबा काठमाडौँ आउनु भएको थियो । खाना बनाएँ । खाना खाने बेला भयो । बुबालाई प्लाष्टिकको बाल्टीबाट पानी उबाएर प्लाष्टिककै जगमा हात धुन दिएँ । हात धुने प्लाष्टिककै बाटा सँगै थियो ।
खाट, स्टोभ, बाल्टी र बाटा निकट नै थिए । बुबाले हात धुनु भयो । सधैँ लुगा फेरेर, औसनी हालेर मात्रै खाना खाने बुबाले त्यो दिन डेराकै परिस्थिति हेरेर जुत्ता नफुकालिकन र औसनीसमेत नहालीकन खानु भयो । यो २०५४ सालको कुरा हो । बुबा प्रगतिशील विचारधाराको व्यक्ति हुनुहुन्थ्यो । उहाँमा मानवीयता भन्ने कुरा मृत्यु हुनु अघिसम्म जिउँदो जाग्दो थियो । गाउँमा दलित परिवार एक मात्र थियो । हाम्रो घरमा पुजापाठ भजनकिर्तन हुँदा त्यो घरको सहभागिता हुन्थ्यो । राति सुत्नका लागि घरभित्रैसम्म प्रवेश निषेध थिएन । परिवर्तनका लागि उहाँबाट भएगरेका ससाना कामले पनि समाजको अहिलेको अवस्थासम्म आइपुगेको र हामीमा चेतनाको दियो भरिएको हो । आफुले साँवाँ अक्षर नचिनेपनि छोराछोरीलाई पढाउनुपर्छ भन्नेमा उहाँको दृढता थियो । यि र यस्ता थुप्रै कुरा बाबाको पछ्याउनै पर्ने विषय छन् ।
तिमल्सिना समाज गठन गर्ने क्रममा सक्रिय रहेको र हाल ललितपुरको अध्यक्ष भएका हिसाबले तिमल्सिनाको इतिहास खोतल्ने प्रयास गरिएको थियो । त्यसैको नतिजा स्वरुप हामीले विक्रम सम्वत ४१५ देखिको लेखाजोखा राख्ने प्रयास गरेका छौँ । कुमाउ गडवालबाट नेपाल आउने क्रममा विक्रम सम्वत ४१५ मा हालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको तिमल्सैनमा बसोबास गरेका पारु पाध्यायका छोरा हरिश्चन्द्र, उनका छोरा शिवप्रसाद हुँदै भवानीशङ्करका चार भाइ छोरामध्ये कान्छा छोरा काशिराम, उनका तीन भाइ छोरामध्ये माइला प्रतिमनका कान्छा छोरा धनपतिका सात भाइमध्ये जन्तरे भवनाथका तीन भाइ छोरामध्ये कान्छा दिननाथ तिमल्सिना हाम्रो बुबा हो । बुबाको जन्म काभ्रेको ढुङ्खर्कमा भएको हो । बुबा २–३ वर्षको हुँदा ललितपुरको कालेश्वर बसाइँ आएको हजुरआमाले भन्नु हुन्थ्यो ।
प्रजातन्त्रको आगमनसँगै हामी देवीचौर आयौँ । लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हामी चापागाउँ सरेका हौँ । हामी ६ दाजुभाइ र आठ दिदी बहिनीका पुजनीय पिताको एक शतक आयुसहित हामीलाई थुप्रै ज्ञान, सीप र अनुभव हस्तान्तरण गरी २०८१ साल फागुन ८ गते मध्यराति बैकुण्ठगमन भयो । उहाँको निधनले हामी निकै मर्माहत भएका छौँ । उमेरका हिसाबले शतक बाँचेको व्यक्तिको मृत्यु स्वभाविक नै हो ।
१ सय वर्ष बाँचेको मान्छेलाई गाउँसमाजमा भगवानको रूप भन्ने चलन छ । धर्म मान्नेहरूले भगवानको मृत्यु हुँदैन भन्छन् । तर, हाम्रो भगवानको स्वास्प्रस्वास रोकियो । मुटु चलेन । आँखा बन्द भए । कान टालियो । शरीर मुढो बन्यो । त्यसो भएको हुनाले हाम्रो भगवानको मृत्यु भयो । बुबाको मृत्युपछि भगवान पनि मर्दोरहेछ भन्ने कुराको बोध भयो । भगवान त देख्ने होइन सम्झने विषय रहेछ । त्यही दिनदेखि हाम्रो बुबा पनि भगवान हुनु भयो । जसलाई अब हामी कहिल्यै देख्ने छैनौँ । मात्र सम्झने छौँ ।
बाल्यकालमा आमाले कथा सुनाउँदा मानिस मरेपछि भगवानको घरमा जान्छ भन्नुहुन्थ्यो । अलिक ठूलो भएपछि १ सय वर्षको मान्छे जिउँदा भगवान भन्ने सुनियो । अहिले आएर सम्झँदा हजुरआमाले १ सय ४ वर्षको उमेरमा, ठूलो बुबाले १ सय ९ वर्षको उमेरमा र माइली फुपू दिदीले १ सय वर्षको उमेरमा तथा बुबाले १ सय वर्ष आसपासमा देहत्याग गर्नु भएकाले उहाँहरु मृत्यु अघि नै भगवान बनिसक्नु भएको थियो । मृत्युपछि त पक्कापक्की भगवान हुनु भयो ।
बुबाको छत्रछायाँमा हामी १ सय ६० जना रहेका थियौँ । बुबाको काजक्रिया गर्नेक्रममा दाजुभाइ बसेर हिसाब गरी निकालेको योगफल हो यो । अब हामीसँग उहाँका अनुभवका अलिखित शब्दवाणी मात्रै छन् । हामीले केहीकेही ससाना भिडियो त राखेका छौँ । तर, तत्कालीन राजनीतिक व्यवस्थाको झल्को दिने उहाँका भनाइ चाहिँ स्मृतिमा मात्रै सीमित राखेका छौँ । दाहसंस्कारका लागि सागरमा झण्डै २ सय जनाको उपस्थिति रह्यो । रातिको उपस्थिति यो उल्लेख्य हो । दुखःको बेलामा हामीलाई सान्त्वना दिन तथा हाम्रो बुबालाई स्मरण गर्दै उहाँप्रति श्रद्धा भाव प्रकट गर्न १ हजार ५ सयको हाराहारीमा नातागोता, कुल कुटुम्ब, इष्टमित्र, शुभचिन्तक हाम्रो घरैमा उपस्थित हुनु भयो । भुइँमान्छेका लागि यो अत्यन्तै उर्जाको विषय हो । सामाजिक सञ्जाल, फोनलगायतका माध्यमबाट उच्च राजनीतिक व्यक्तित्व, उच्च पदस्थ कर्मचारीसहित देशविदेशमा रहनु भएका हाम्रा साथीभाइलगायतले हाम्रो बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै हामीलाई साहनुभूति दिनु भएको छ । यसलाई हामीले सङ्गालेर राखेका छौँ ।
यो हाम्रो बुबाको आर्जन हो । यसलाई च्युत हुन दिने छैनौँ । यो हाम्रो प्रतिबद्धता हो । अरुहरुका लागि लगभग १ सय वर्ष बाँचेर बैकुण्ठगमन एक सामान्य घटना हो तर हामी उहाँका सन्ततीका लागि छत र छाहारी खसेको हो । यो हाम्रा लागि अत्यन्तै पीडादायी र असामान्य घटना हो । एक शतकको यात्रापछि विश्राम लिनु भयो । एक शतकको बुबाको सङ्घर्षको आधा हिस्सा पनि भोग्न भ्याइएको छैन । अनुभवको कुरा त परै जाओस् ।
बुबाको जस्तै लगनशीलता, मेहनत र सङ्घर्षको पथप्रति दत्तचित्त भएर लागिरहने प्रण गर्दछौँ । यो प्रण उहाँका सन्ततीहरूको तर्पबाट हो । न्याय र समानताका लागि बाबुको आदर्शबाट च्युत हुने छैनौँ । बुबाको अभावको पूर्ति असम्भव छ । तर, बुबाको आदर्श र अनुभवका सुन्ने सामग्री स्मृतिपटमा अमित छन् । यिनैलाई मुल मन्त्र मानी आगामी यात्रा तय गर्दछौँ । यसैलाई पछ्याउने छौँ ।
हाम्रो बुबाको निधनले हामीमाथिको एउटा पुस्ताको नामेसी इतिहास बन्यो । हाम्रो शीरको टोपी मात्रै खसेन मुलुकले अनुभवी नागरिक गुमायो । छरछिमेकीको समय काट्ने घडी बिग्रियो । इष्टमित्रको आशिर्वाद थाप्ने थलो बदलियो । आँगन र चोकमा सन्नाटा छायो । हाम्रो आडभरोसा भत्कियो । हाम्रो घरको पिल्लर भाँचियो । उहाँका सन्तती १ सय ६० जना टुहुरो भयौँ । बुबाको मृत्यु सत्य थियो । यही सत्य स्वीकार्नुको विकल्प छैन । बुबाको पथ र पहिचान भनेकै इमान्दारिता हो । यसलाई हामीले सधैँ पछ्याने बाचा गरी पूरा गर्नु नै बुबाप्रतिको सही सम्मान हुन्छ । पितृदेवो भवः ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ २१:४९