संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देबेन्द्रलाल श्रेष्ठ (काइँलाबा)को तुलनामा अहिलेका सबै नेताहरु निकै तल भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित मेरो नजरमा काँइलाबा विषयक व्यक्तित्व परिचर्चा कार्यक्रममा बोल्दै काँइलाबासँग समेत लामो समय काम गर्नुभएका अमात्यले अनेक कोणबाट अहिलेका सबै राजनीतिक दलका नेताहरुभन्दा काँइलाबा निकै माथि भएको बताउनुभयो । उहाँले भन्नुभयो पहिले कम्युनिष्टहरु धेरै इमान्दार थिए तर अहिले त न कम्युनिष्ट न काँग्रेस कोही इमान्दार भएनन्, जहिलै पद चाहिने, नेतृत्वमा पुग्न दौडिने र अवसरवादी प्रबृत्तिले नेपाली राजनीतिमा समस्या सिर्जना भएको पनि अमात्यले बताउनुभयो ।
अमात्यले आफू सानै उमेरदेखि विद्रोही स्वभावको भएको र पाटनका सबैसँग मिल्ने काँइलाबाबाटै प्रभावित भएर आफू कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताउँदै कम्युनिष्ट हुँ भन्दा र काइँलाबालाई गुरु मान्न पाउँदा गर्व लाग्ने बताउनुभयो । नेता अमात्यले पछि आफू काँग्रेस पार्टीमा सक्रिय भए पनि वास्तविक कम्युनिष्ट जस्तो आचरणमा बस्ने, पारदर्शी जीवनशैली भएको, देखेको कुरा निर्भिकतापूर्वक बोल्ने र अन्याय नसहने व्यवहार कम्युनिष्ट पार्टीकै अभ्यासका कारण कायम रहेको पनि बताउनुभयो । २०७० को निर्वाचनको सन्दर्भ निकाल्दै अमात्यले भन्नुभयो सधैं पछाडी परिरहेको काँग्रेसलाई ललितपुरको तीन वटै क्षेत्रमा जिताउन मैले जुन ढंगले संगठन परिचालन गरेको थिएँ त्यो कम्युनिष्ट पार्टीकै शैलीको सिकाइ थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले काँइलाबाको योगदान आजको राजनीतिक व्यवस्था आउनमा निकै महत्वपूर्ण रहेको बताउँदै उपलब्धिहरुको रक्षाका लागि नयाँ पुस्ताले अग्रजको योगदान स्मरण गर्नुपनर्पे बताउनुभयो । सरल, मिलनसार, इमान्दार र वर्गनिष्ठाले भरिपूर्ण काँइलाबाको मेहेनतले नै पाटन कम्युनिष्टको गढ भएको बताउनुभयो । देबेन्द्रलाल श्रेष्ठ काइँलाबा राजनीतिका लागि इमान, निष्ठा, त्याग र निरन्तरताको पर्याय भएको बताउनुभयो ।
पत्रकार अमृतनाथ तिमल्सिनाले देबेन्द्रलाल श्रेष्ठ काइलाबा र उहाँका समकालीन नेताहरुको योगदान र इतिहासलाई सँस्थागत गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकेका कारण नयाँ पुस्ताले राजनीतिक उपलब्धि बुझ्न नपाएको बताउनुभयो । राजनीतिक संकट बढ्ने र राजनीतिक परिवर्तन तथा उपलब्धि जोखिममा पर्न सक्नेतर्फ राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै काइँलाबाको योगदानको दस्तावेजीकरण सँगसँगै परिवर्तनका लागि योगदान गरेका अरु धेरै अग्रजको इतिहास सँस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
देबेन्द्रलाल श्रेष्ठ (काइँलाबा) स्मृति ग्रन्थ प्रकाशन समितिले काइँलाबाको योगदानलाई नजिकबाट बुझ्नहरुसँग विमर्श गरेर पुस्तक प्रकाशनको तयारी गरेको सम्पादन समितिका सँयोजक दिपेन्द्र श्रेष्ठले बताउनुभयो । श्रेष्ठले नयाँ पुस्ताले काइँलाबा नचिन्नुमा उनीहरुको दोष नभै काइँलाबाका कार्यकर्ताको हिसावले आफूहरुको र जीवनभर समर्पित रहेको पार्टीको दोष भएको स्वीकार्नुपर्ने बताउनुभयो ।
सम्बन्धित विभिन्न पक्षहरु, सबै राजनीतिक विचारका पक्षधरहरु र सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको विचारलाई समेटेर वैशाखमा स्मृतिग्रन्थ प्रकाशन गर्ने तयारी भएको प्रकाशन समितिका सँयोजक कृष्णकुमार महर्जनले बताउनुभयो ।कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु, काँइलाबालाई नजिकबाट चिन्ने उहाँका टोलवासी अगुवाहरु लगायतको उपस्थिति थियो । देबेन्द्रलाल श्रेष्ठ काइँलाबाको १९८० सालमा पाटनमा जन्म भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ २१:१९