ललितपुर । चिनियाँ प्रविधि, सीप र नवप्रवर्तनको सहकार्यले गोदावरीको परम्परागत बेतबाँसका सामान बनाउने व्यवसाय अन्तर्राष्ट्रिय पहुँचमा पुग्ने विश्वास लिइएको छ । शनिवार बडिखेलमा आयोजित बाँसका सामग्री बनाउने १५ दिने तालिमको समापन समारोहमा सहभागी दातृ तथा साझेदार निकायका प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो । 
परम्परागत रुपमा बाँसका सामान बनाउने गोदावरीका स्थानीय पहरी समुदायलाई लक्षित गरी सुरु गरिएको बाँसका सामान बनाउने तालिमले स्थानीयहरुको सीपलाई आशलाग्दो ढंगले विकास गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभएको छ । नगरप्रमुख महर्जनले चिनियाँ प्रविधि र सहकार्यले आधुनिक र प्रतिष्पर्धि बजारमा बडिखेलको उत्पादन गुणस्तरीय भइ रोजगारी निर्माणमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । सीप विकास तालिमले स्थानीय महिलाहरुको आयआर्जन तथा जिवनस्तर उन्नतिमा विशेष योगदान गर्ने नगर उपप्रमुख मुना अधिकारीले विश्वास व्यक्त गर्नुभयो । यो तालिम कार्यक्रम स्थानीय समुदायको उत्थानका लागि निकै महत्वपूर्ण रहेको अधिकारीले बताउनुभयो ।
तालिमका लागि सहयोग गरेको चीनको तिब्बत (सि चा)स्वायत्त प्रदेशमा मुख्यालय रहेको गुडविल फाउन्डेशनका अध्यक्ष मा झेजियाङले बाँससम्बद्ध सीप र कलाले स्थानीयलाई केवल आर्थिक लाभ मात्र नभै पर्यावरणीय र सांस्कृतिक धरोहरको संरक्षणमा पनि ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 
चिनियाँ बाँस बुनाइ प्रशिक्षण नेपाल प्रवेश गरेको पहिलो भएको बताउँदै नेपाल चाइना कैलाश कल्चरल प्रमोशन डेभलपमेन्ट एसोसियसनका अध्यक्ष रेन्चिन नोर्बुले बताउनुभयो । यो १५ दिने तालिमको समापन भए पनि नयाँ सुरुवात विन्दु भएको बताउँदै तालिमका प्रशिक्षार्थीहरु सीपका उत्तराधिकारी भएको बताउनुभयो ।
परम्परागत रुपमा पुस्तौ देखि बाँसको काम गर्दै आएको भएता पनि बस्ति विकास र आधुनिकरण सॅग सॅगै नयां पुस्ताले महत्व दिन छोडेको पेशा चिनियाँ दातृ निकाय र गोदावरी नगरपालिकाको पहलमा चीनले गरेको बाँसको विकास ,आधुनिक औजार र यसको आर्थिक महत्व बुझाउन पाउँदा आफू र उद्योग वाणिज्य संघ हर्षित भएको गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष राजन महर्जनले बताउनुभयो । १५ दिने तालिमले यहाँका स्थानीयमा सीपको विकास मात्र नभै नेपाल चीनबिचको जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको महर्जनले बताउनुभयो । गोदावरी उद्योग वाणिज्य संघको पहलमा परम्परागत सीपको आधुनिकीकरण, नयाँ पुस्तामा हस्तान्तरण तथा नवप्रवर्तनमा विभिन्न निकायहरुसँग सहकार्यमा जोड दिइने उद्योग वाणिज्य संघ अध्यक्ष महर्जनले बताउनुभयो ।
गुडवील फाउण्डेसन चाइना, नेपाल चाइना कैलाश कल्चरल प्रमोशन डेभलपमेन्ट एसोसिएसन, गोदावरी नगरपालिका, सोसल डेभलपमेन्ट भिजन ललितपुर, ग्रीन बेम्बो क्रियसन ललितपुर र गोदावरी उद्योग वाणिज्य संघको सहकार्यमा भएको तालिममा २१ जना स्थानीय पहरी समुदायका सहभागी रहेका थिए । अल्पसंख्यक आदिवासी समुदायको पहिचानको रुपमा रहेको पेशाले प्रविधि सहित नयाँ पुस्तामा हस्तान्तरण हुने आशा जागेको वडा नं ४ का अध्यक्ष सानुभाइ नगरकोटीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ १६:५१