ललितपुर । कोञ्ज्योसोम अस्पतालले दक्षिण ललितपुरका नागरिकलाई भरलाग्दो स्वास्थ्यसेवा दिने विश्वास व्यक्त गरिएको छ । शंखुमा बुधबार आयोजित पालिकास्तरीय अस्पताल उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले अस्पतालको अभावम कोही पनि विरामीले जटिल अवस्था व्यहोर्नुपर्ने अवस्था आउन नदिने विश्वास व्यक्त गर्नुभएको छ । पालिकास्तरीय शंखु आधारभुत अस्पताल भवन हस्तान्तरण तथा उद्घाटन समारोहमा वोल्लदै वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिक परिवर्तनलाई नागरिकले अनुभूती गर्ने बनाउन शिक्षा स्वास्थ्य जस्ता आधारभूत अधिकारका विषयमा सबै तहका सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु मधुसूदन पौडेल, उर्मिला लामा, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँल, उपप्रमुख रामलाल लामा, पूर्व प्रदेश सांसद चेतनाथ सञ्जेल लगायतले अस्पतालको आवश्यकता, विभिन्न तह र तप्काबाट भएको सहयोग र आउँदा दिनमा यस भेकको विकासका लागि हुनुपर्ने साझा सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले अस्पतालको सञ्चालन मात्र नभै शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता विकास लगायतका धेरै विषयमा योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष राजन घिमिरेले हरेक नागरिकको घरघरमा पूर्ण स्वास्थ्य सेवाको अनुभूती गराउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष गोपीलाल सिंतान लगायतका जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । पालिकास्तरीय अस्पताल संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागतमा निर्माण भएको हो ।
आधारभूत १० शैयाको अस्पताल करिब ६ रोपनी जग्गामा निर्मित भएको हो । अस्पताल बनाउन ३ रोपनी जग्गा दानगर्ने विष्णुमाया बोम्जनलाई सम्मान गरिएको थियो । गाउँपालिकाको लागत र स्थानीयको सहयोगमा थप जग्गा खरिद गरी जम्मा ६ रोपनी क्षेत्रफलमा अस्पताल बनाइएको हो । २०७८ साल चैत्र १४ गते तत्कालीन पालिका अध्यक्ष गोपीलाल सिंतान, उपाध्यक्ष मिङ्मा लामा र वडाध्यक्ष ध्रुव घिमिरेलगायत जनप्रतिनिधि र कर्मचारीहरुले शिलान्यास गरी निर्माण कार्य शुरु भएको थियो भवन निर्माण ब्राइट (ज्ञानज्योती सप्तपथ जेभी)ले निर्माण गरेको हो । अस्पताल संचालनमा आएसँगै कोन्ज्योसोम गाउँपालिकासँगै महाँकाल गाउँपालिकाको बुखेल र मानिखmे, वाग्मती गाउँपालिकाको इकुडोल र भट्टेडाँडा, लगायतका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने छ ।
पालिकाको गौरवको रुपमा अस्पताललाई सम्पूर्ण सेवा र दक्ष जनशक्तियुक्त बनाउन पालिकाका तर्फबाट गर्नुपर्ने सम्पूर्ण पहलकदमीका लागि प्रशासनिक ढंगबाट सम्पूर्ण कामको प्रभावकारी समन्वय र परिचालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल दुलालले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष राजन घिमिरे, वडाध्यक्षहरु, शाखा प्रमुख तथा कर्मचारीहरु तथा जनप्रतिनिधिहरु र स्थानीयको व्यापक उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ २१:०९