ललितपुर । कोञ्ज्योसोम गाउँपालिका ५ भारदेउ आसपासका क्षेत्रमा बोधिचित्त खेतीप्रति आकर्षण बढेको छ । स्थानीय तामाङ समुदायमा बोधिचित्त खेतीप्रति आकर्षण बढेकोले समृद्धिका लागि खेती विस्तार गर्ने उद्धेश्यले पचास प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको वडाध्यक्ष विजय कुमार स्याङतानले बताउनुभयो । विरुवा वितरण समारोहमा सहभागी हुनुभएका गाउँपालिका उपाध्यक्ष राजन घिमिरेले हरेक वडाहरुले आफ्नो आवश्यकताअनुसार तय गरेको कार्यक्रमको रुपमा भारदेउमा वितरण गरिएका विरुवाले केही वर्षमै यस भेगलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
वडाध्यक्ष स्याङ्तानले भारदेउका सम्पूर्ण कृषक दाजुभाई हरुको आर्थिक पाटोमा उकास्ने प्रभावकारी कृषि कार्यक्रमको रुपमा बोधिचित्त खेतीलाई लिइएको बताउँदै सम्पूर्ण भारदेउ बासि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा सबैभन्दा बढी बोधिचित्तको खेती हुने काभ्रेको तिमाल गाउँपालिकाबाट राम्रा विरुवाहरु ल्याएर वितरण गरिएको पनि वडाध्यक्ष स्याङ्तानले बताउनुभयो । दक्षिण ललितपुरको तामाङ समुदायले पहिचान र अपनत्व सहित बोधिचित्त खेती विस्तार गर्न सक्ने सम्भावनालाई समेत मध्यनजर गर्दै भारदेउमा खेती सुरु गरिएको वडाध्यक्ष स्याङ्तानले बताउनुभयो ।
के हो बोधिचित्त ?
बोधिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजाति जिजिपस बुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा बुद्धचित्त वा बोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो ।
यो माला रुखका हाँगामा वयरको दानाजस्तै फल्ने गर्छ । परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइन्छथ्यो तर अहिले यसको प्रयोग, महत्व र बजार बुझेर अन्यत्र पनि तेमालबाटै विस्तार भईरहेको छ । तेमालमा रहेका स्थानीयको समृद्धिको मुख्य स्रोत नै बोधीचित्त हो ।
बयर प्रजातिको एक प्रकारको हल्का काँडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्रबाट भएको हो । बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ, यसको माला दलाई लामाले पनि प्रयोग गर्ने गरेको धार्मिक अगुवाहरुको मत छ । चिन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भिएतनाम, मकाउ, ताईवान आदी देशहरुमा यसको माग उच्च छ ।
कस्तो छ बजार मुल्य ?
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फलिरहेको प्रकार अनुसार ३ देखि ७ मुखेसम्मको मुल्य प्रतिगोटा रु. ४ सय देखि ६ लाखसम्म पर्छ । त्यसैगरी दुई मुखे मालाको भने साइज अनुसार मुल्य निर्धारण गरिएको हुन्छ । ७ मिमी को १०८ गेडा (एक माला) रु ६ लाख पर्छ भने साइज बढ्दै जाँदा मुल्य कम हुँदै जान्छ । अन्त्यमा सबभन्दा ठूलो साइजको माला भने पाथीमा भरेर २५ हजारदेखि ३० हजार सम्ममा बेचिन्छ ।
कसरी गर्न सकिन्छ खेती ?
समशितोष्ण भू–भाग (समुन्द्र सतहबाट ४०० मिटरदेखि २४०० मिटर) सम्म बोधिचित्त मालाको विरुवा लगाउन सकिन्छ । नयाँ पालुवा र जरा आउनुभन्दा अगाडि रोपिएको बिरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । जमिनमा धेरै संख्यामा रोप्दा ५ देखि ६ मिटरको दुरी कायम गरी रोप्नुपर्छ । रोपेको ३ देखि ४ वर्षबाट दाना फल्न शुरु हुन्छ ।
लगाउँदा ध्यान दिनुपर्ने कुराहरु :
यो विरुवा ठूलो रुख हुने भएकाले पछिसम्मको भविष्य हेरेर यसको लागि खाडल खन्नुपर्छ । ठूलो खाडल खनेर मल र माटोको उचित मिश्रण राख्ने । त्यसपछि नयाँ पालुवा आउन लागेको बिरुवालाई रोप्ने । राम्रोसँग पानीको व्यवस्थापन गर्न सकिन्छ भने हिउँदमा पनि यसलाई लगाउन सकिन्छ । अन्यथा गर्मी लागेर विरुवामा पालुवा आएपछि जमिनमा अलिअलि चिसो तयार हुन लागेपछि रोप्न सकिन्छ । कम्तिमा तीन वर्ष जोगाउन सकेको विरुवा त्यसपछि बाढी पहिरो चट्याङ वा अरु कारणले नोक्सान हुने बाहेक हत्तपत्त क्षति हुँदै । आम्दानीको दिगो स्रोतको रुपमा बुद्धचित्त हुन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १३:१९