ललितपुरको बागमती गाउँपालिकाले तीव्र रुपमा विकास गरिरहेको पर्यटकीय गन्तव्य सातकन्या राडार पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरु बढिरहेका छन् । पछिल्ला केही वर्षमा विकसित भएको यो पर्यटकीय क्षेत्रमा विगत वर्षभन्दा यसवर्ष पर्यटक बढेको स्थानीय गोविन्द दाहालले बताउनुभयो । व्यवस्थित पार्क, सिँढिबाटोसहितको भ्यू टावर, राडार, पीआइए प्लेन दुर्घटनास्थल लगायतका स्थानहरु हेर्न आउने पर्यटकहरुलाई खाना खाजा र वासको बन्दोवस्त गर्ने व्यवसाय समेत बढ्दै गएको स्थानीयहरु बताउनुहुन्छ ।
गाउँपालिकाको शानको रुपमा यो पर्यटकीय क्षेत्र विकास भईरहेको गाउँपालिका अध्यक्ष बीरबहादुर लोप्चन बताउनहुन्छ । गुरुयोजना नै बनाएर हामीले पर्यटकीय क्षेत्रको रुपमा यस क्षेत्रलाई विकास गर्दा होमस्टे र खानाखाजाको व्यवसाय गर्दा सैयौंलाई रोजगारी र हजारौंलाई राम्रो पर्यटन गन्तव्य मिलेको छ ।
अध्यक्ष लोप्चनका अनुसार अवका केही समयमा कान्तिलोकपथबाट ओहोरदोहोर गर्नेहरुका लागि पनि आकर्षित गर्ने पर्यटकीय गन्तव्य बन्नेछ । काठमाडौं उपत्यकाबाट नजिकैको र सहज यातायात व्यवस्थाबाट पुगी प्राकृतिक रुपमा मनोरम दृश्य अवलोकन गर्न सकिने भएकोले यो गन्तव्य छिट्टै विकास भएको पनि लामाले बताउनुभयो । निजी क्षेत्रले जग्गा लिजमा लिएर जीपलाइन पनि सुरु गरेको जीपलाइन व्यवसायी दिलिप घिमिरे बताउनुहुन्छ । काठमाडौं उपत्यका र हिमाल एकै ठाउँबाट हेर्दै जिपलाइनमा रमाइलो गर्न पाइने भएपछि पर्यटकको झन् चाप बढ्ने घिमिरेको विश्वास छ ।

छुट्टीको दिन परिवार सहित रमाउन वागमती गाउँपालिकाका विभिन्न क्षेत्र, कोञ्ज्योसोम र गोदावरी तथा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पर्यटकहरु आउने स्थानीय रमेश मोक्तान बताउनुहुन्छ । सार्वजनिक रुटका बसमा आएर फर्कने सहज व्यवस्था नहुँदा धेरैले अफसोच मान्ने गरेको पनि लोप्चनले बताउनुभयो ।
गुराँस फुल्ने सिजन, नयाँ वर्ष, विदाका दिन घुम्न आउने पर्यटक सँगै शितल हावामा एक रात विताउँ न त भन्दै आउने पर्यटकहरु बढेका छन् तर पर्याप्त आवास सेवा नपुगेकोले व्यवसायीहरुलाई आवास सेवाको व्यवसाय बढाउन अनुरोध गरेका छौं गाउँपालिका अध्यक्ष लोप्चन भन्नुहुन्छ पानीको अभाव भएको यस ठाउँमा लिफ्टििंग प्रविधिबाट केही समयमा नै पानीको छेलोखेलो हुन्छ ।

राम्रो सडक, पर्याप्त पानी र सामुदायिक वन संगको समन्वय पछि राडार क्षेत्रमा आवश्यक पूर्वाधार र सुविधाहरु पर्याप्त भएसँगै पर्यटकीय गतिविधि बढ्दा स्थानीय सरकारलाई राम्रो आम्दानीको स्रोत हुने बागमती गाउँपालिका ३ का वडाध्यक्ष नवराज खड्का बताउनुहुन्छ ।
टिकटकमा देखेका कारण सोध्दै आइपुगेको बताउने नागार्जुन सितापाइलाका कुमार वोगटीले लोकेसन सजिलो हुने गरी ठाउँठाउँमा वोर्डहरु राखिदिएको भए राम्रो हुने बताउँदै हेटौंडा जाने बाटो भनिएको तर वागमती सातकन्य राडार पर्यटकीय क्षेत्र जाने बााटो भनेर किन नराखिएको होला भन्दै जिज्ञासा राख्नुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ ०७:००