मृत्युको मुखमा पुगेको विरामीलाई पनि जब सेतो कोट लगाएका व्यक्तिको निधारमा हल्का स्पर्श पर्छ, होसमा छ भने त्यो विरामीलाई बाँच्ने आशा पलाउँछ । मनोवैज्ञानिक ढंगले विरामीलाई बाँच्छु भन्ने आशा जगाउने पहिलो स्पर्श गर्ने पेशा नर्स हो । विरामीलाई मृत्युको मुखबाट तानेर धर्तीमा अड्याउने एउटा भरपर्दो सारथी नर्सिङ पेशासंग जोडिएका अनेक अन्तर्कथा छन् । मधुर मुस्कानसहित विरामीको सेवामा हरदम दत्तचित्त एक नर्सको मुस्कान पछाडी पीडाका अनेक डोबहरु हुन सक्छन् तर सेवाभावको अथाह उपमा मानिने नर्सिङपेशा प्रति जनविश्वास, स्वाभीमान र सम्मानको भाव निर्माण हुनु जरुरी छ ।
विरामीलाई पहिलो स्पर्श र नियमित हेरचाह गर्ने अनि उपचारमा डाक्टरलाई सघाउने परिचयको रुपमा रहेको यो पेशाको पहिचान र इतिहास नै आकस्मिक रुपमा सेवाभाव जागृत भएर स्वयम्सेवी रुपमा काम गर्न सुरुवात गरेर भएको पाइन्छ । सन् १८५३ मा क्रिमिया युद्धताका रुसका विरुद्ध बेलायती र फ्रेञ्च सैनिकहरुले गरेको आक्रमणका क्रममा घाइते भएका योद्धाहरुको उपचारका लागि केही स्वयम्सेवी महिलाहरु लिएर रातारात युद्ध मैदानमा बत्ती बोकेर आपतकालीन सेवा र विना तालिमको भए पनि सेवाभाव प्रकट गर्न खटेकी एक ब्रिटिश महिला फ्लोरेन्स नाइटिंगेलले सुरु गरेको भावनामा आधारित कर्मको निरन्तरता नर्सिङ पेशा हो । त्यतिबेलादेखि अहिले सम्म पनि यो पेशा उस्तै अफ्ठेराहरुमा उस्तै आकस्मिक उपचार र तत्काल राहत महसुस हुने सेवा प्रदायक परिचयसाथ रहेको छ । सेवाभाव पर्याप्त नहुँदा नर्सिङ पेशामा टिक्न नसक्ने अवस्था अनुभवीहरुले व्यक्त गर्ने गरेका छन् ।
क्रिमिया युद्ध सकिएसँगै विश्वभर एउटा सन्देश प्रवाह भयो फ्लोरेन्स लाइटिंगेललाई लेडी वीथ द ल्याम्प भनेर विश्वभरका मिडियाले चर्चामा ल्याए । अनि त्यो पेशामा सक्रिय महिलाहरुलाई दयाका बहिनीहरु भनेर चर्चा हुन थाल्यो । संसारभर सेवाभावले समर्पित हुने र डाक्टरहरुलाई सघाउँदा सघाउँदै अत्यावश्यकीय सेवाहरुसम्बन्धि सीप डाक्टरले सिकाएर सहयोगी स्वमय्सेवीको रुपमा संसारभर फैलिन थाल्यो । दयाका बहिनीहरु नाममै फैलिएर १४१ देशमा पुगेका पेशाकर्मीहरुको अन्तर्राष्ट्रिय भेलाले १९७४ मे १२ मा यो पेशालाई नर्स पेशाका रुपमा विश्वभर परिचय दिलाउने, मे १२ लाई विश्व नर्स दिवसको रुपमा मनाउने लगायतका उद्घोषहरु गरेको थियो ।
यस्तो जिवनको महत्वपूर्ण अवस्थाको साक्षी नर्सहरुको पेशाको गरिमा र महत्वको बहस नेपालमा १९९३ देखि सुरु भएको हो । वि.सं.१९४६ मा पृथ्वी वीरविक्रम शाहले वीर अस्पतालको स्थापना गरेसँगै नेपालमा नर्सिङ सेवा सुरु भएको हो । १९८५ मा भारत अध्ययनका लागि पठाएका ४ जना नेपाली महिलाहरु विद्यावती, राधादेवी, धर्मादेवी र विष्णुदेवी हुन् । अहिले नेपालमा १ लाख १२ हजारभन्दा बढी नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन् । हाल स्टाफ नर्स ७३ हजार ५१४, अनमी ३६ हजार ९ सय ६९ र विशेषज्ञ १ हजार १ सय ९४ तथा विदेशी नर्स ८४८ र मिडवाइफ ५१ जना रहेको काउन्सिलको तथ्यांकले देखाउँछ ।
विसं. २०१३ सालमा डब्लुएचओको प्राविधिक सहयोगमा सुरु भएको इतिहास छ । २०१६ मा शान्तभवन नर्सिङ स्कूलको स्थापना भयो भने अहिले नेपालमा सरकारी तथा निजि क्षेत्रमा २ सय ७० को हाराहारीमा रहेका शैक्षिक सँस्थाहरुले विभिन्न नर्सिङ कार्यक्रमहरु सञ्चालन गरेर वार्षिक झण्डै १० हजारका दरले नर्सहरु उत्पादन गरिरहेका छन् । नेपाली शैक्षिक सँस्थाबाट उत्पादन भएको संख्याको तुलनामा रोजगारीको संख्या न्यून हुने र पेशाको मिहिनेत र आवश्यकता अनुसार पारीश्रमिक नभएसँगै नर्स पेशामा विदेश पलायन र पेशाप्रति वितृष्णा बढेको देखिन्छ । जुन अत्यन्तै चिन्ताजनक विषय हो । नर्सहरुको व्यवस्थापन र उनीहरुको क्षमता अभिवृद्दि गर्न सके अहिलेको नर्सको संख्या नेपालका लागि अति नै कम हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले प्रति १० हजार जनसंख्यालाई चिकित्सक, नर्स र मिडवाइफ गरी २३ जनाको अनुपातमा दक्ष स्वास्थ्यकर्मीको उपलब्धता अथवा प्रति एक हजार विरामीका लागि ४ दशमलव ४५ स्वास्थ्यकर्मी हुनुपर्ने भनिए पनि नेपालमा नर्सहरु बेरोजगार र सीमित नर्सले सीमित पारीश्रमिकमा असीमित सेवा दिनुपर्ने बाध्यता छ । काममा भएका नर्स र नेपालको जनसंख्या हिसाव गर्दा एक नर्सले करिव ४ सय जनसंख्यालाई हेर्नुपर्ने बाध्यता छ । यसरी एक नर्सले यति धेरै जनसंख्यालाई हेर्नुपर्दा सेवाको गुणस्तर कायम हुन सकेको छैन ।
अहिले नेपाली स्वास्थ्य क्षेत्रमा हाराहारी ३५ हजार नर्सले आफ्नो सदस्यता नवीकरण गर्ने गरेका छन् । सदस्यता नवीकरण नगरेरै पनि थप केही नर्सहरु कार्यक्षेत्रमा रहे पनि नर्सिङकाउन्सिलमा दर्ता भएका झण्डै ५० प्रतिशतको हाराहारी नर्सहरु रोजगारीका लागि विदेशिएका छन् । परिषद्बाट प्रमाणीकरण गराएरै ३९ हजारभन्दा बढी नर्सहरु विदेश गएको तथ्यांक छ । त्यसबाहेक अनौपचारिक माध्यमबाट र परिषद्मा जानकारी नै नभै २५ हजारभन्दा बढी नर्सहरु विदेशमा कार्यरत छन् । नेपालमा लोक सेवा आयोगमार्फत परीक्षा दिएरै सरकारी सेवामा कार्यरत १२ हजारको हाराहारी नर्सहरुले सेवा दिईरहेका छन् भने विकास समितिअन्तर्गत ११ हजारको हाराहारी नर्सहरु कार्यरत छन् । त्यस बाहेक निजी अस्पतालमा कार्यरत नर्सहरु उत्साहजनक ढंगले काममा दब्चित्त हुने अवस्थामा अनेकन ढंगबाट अवरोध भईरहेको छ ।
यी तथ्यांकहरु हेर्दा नेपालमा नर्सिङ शिक्षा देशभित्रका स्वास्थ्य सस्थामार्फत सेवा गर्न नभै वैदेशिक रोजगारीका लागि हो भन्ने सन्देश गईरहेको छ । नेपालबाट विभिन्न नाममा विदेश गएर भए पनि नर्सिङ क्षेत्रमै रोजगारी गर्ने गरेको तथ्य उजागर हुन लागेसँगै श्रम मन्त्रालयसँगको औपचारिक सम्वाद भएरै गत वर्ष युकेले नेपाली नर्सहरुलाई वैदेशिक रोजगारीमा लैजान तयारी गरेको थियो । अहिले पनि विभिन्न देशहरुले नेपाली नर्सहरुलाई न्युन पारीश्रमिकमा काम लगाइरहेका छन् । देशभित्रै पनि शोषणमा परेका कारण नर्सिङ पेशालाई न्याय नमिलेको सरोकारवालाहरु बताउँछन् ।
नेपालको आन्तरिक श्रम बजारमा आवश्यक मात्रामा नर्सहरुले रोजगारी प्राप्त नगर्नु र रोजगारी प्राप्त गरेको संस्थाहरुमा पनि मर्यादित श्रमको अधिकार नपाएको अवस्थामा सम्बन्धित निकायहरुले गम्भिर भएर यस क्षेत्रलाई हेर्न नसक्नु बडो विडम्वनापूर्ण अवस्था हो । संविधानमा नै समाजवाद स्थापनाको लक्ष्य राख्दै थुप्रै लोककल्याणकारी कार्यक्रमहरु प्रस्तुत गरेका हरेक सरकारले स्वास्थ्यजस्तो सम्वेदनशिल क्षेत्रमा अझ नर्सहरु जस्तो अत्यन्तै संवेदनशील काम गर्ने पेशाकर्मीहरुलाई प्राथमिकता दिन नसक्नु दुखद विषय हो । अझ विशिष्ट अस्पतालहरुमा कार्यरत नर्सहरु प्रति त सरकार अलिकति पनि सम्वेदनशील छैन । मानसिक अस्पताल लगायत कतिपय विशेष प्रकृतिका अस्पतालहरुमा नर्सहरुलाई विरामी सम्हाल्न अत्यन्तै कठिनाइ हुने अवस्थाहरु सरकार समक्ष पटक पटक जानकारी गराउँदा समेत नसुनिनु नर्सहरुप्रतिको उपेक्षा हो भन्ने सम्म पेशाकर्मीहरुमा मनोवैज्ञानिक छाप परिरहेको छ ।
लोककल्याणकारी राज्यमा ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण, कतिपय ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिने लगायतका लोकप्रीय कार्यक्रमहरु सरकारले अगाडि सारिरहेको हुन्छ । गएका केही वर्ष यता प्रदेश सरकारहरुले एक आधारभूत माध्यमिक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर वालवालिकालाई स्वास्थ्य सेवा सहज बनाउने अभ्यास गरेको छ । यसरी परीक्षणमा रहेका कार्यक्रमहरु जसले नागरिकहरुलाई राज्यद्धारा अभिभावकत्व प्रदान गरेको आभाष भएको छ यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइनेतर्फ ध्यान दिनु जरुरी छ । यसले राज्यको नागरिकप्रतिको कर्तव्यलाई दीर्घकालीन ढंगले सुनिश्चित गर्ने अभ्यास बस्ने गर्छ भने अर्कोतर्फ नर्स पेशाकर्मीहरुलाई सम्मानित ढंगले राज्य र नागरिकलाई सेवा गर्ने अवसर प्राप्त हुन्छ । नर्सहरुको आवश्यकता र योगदान विशेष गरी ठूला महामारीहरुमा देखिएको छ । कोभिड महामारी तथा डेँगु प्रकोपका समयमा अस्पतालहरुमा नर्स अभाव प्रष्टै देखिएको छ । न्युन पारीश्रमिक, शोषण र पेशाको दीर्घकालीन सुरक्षाको प्रत्याभूती नभएका कारण नर्सिङ पेशाकर्मीहरु विस्थापित हुनु स्वास्थ्य संकटको हिसावले मात्र नभै सामाजिक र प्रशासनिक हिसावले समेत सोचनीय विषय बनेको छ ।
नर्सिङ दिवसको अवसरमा अर्काइमा रहेको द नेपाल टप दैनिक पत्रिकामा पूर्वप्रकाशित लेखलाई प्रस्तुत गरिएको छ
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ २३:३१