विश्वबजार कोरोना महामारीका कारण भएको शिथिलताबाट विस्तारै उठ्दैछ । अर्थतन्त्रमा विशेष योगदान गर्ने पर्यटन क्षेत्र अलि गतिका साथ उठ्न लागेको छ । पर्यटनका लागि बरदान मानिने नेपाल वितेका केही वर्षको निरन्तर ओरालोपन झेल्दै व्यावसायिक पुनस्र्थापनाको प्रयत्नमा छ । भूकम्प र कोभिड १९ पछि नेपाली पर्यटन पूर्ववत् अवस्थामा फर्किएको विश्वास गर्न सकिने पर्यटन तथ्यांकले नेपाली अर्थतन्त्रमा आशा जगाएको छ । नेपाली पर्यटन तथ्यांक अन्य मुलुकबाट नेपाल प्रवेश गरेर भ्रमण गरेको अभिलेखका आधारमा निर्धारण हुने भए पनि पर्यटनमा आधारित अर्थतन्त्रलाई भने आन्तरिक पर्यटनले पनि थप बल प्रदान गरेको छ । अर्थतन्त्रका हिसावले विशेष गरी सन् २०२३ मा पर्यटनमार्फत नेपालले सकारात्मक सूचक निर्माण गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा विभिन्न १४८ देशका १० लाख १४ हजार ८७६ पर्यटन नेपाल भ्रमण गरेका छन् । यो अवस्था वितेका ५ वर्षयता सबैभन्दा बढी हो ।
पर्यटनले आर्थिक उपार्जन बढाउने मात्र नभै खुसीको सञ्चार गर्ने महत्वपूर्ण काम गर्छ जुन कहिँ अभिलेख हुन सक्दैन । यो खुसी र सकारात्मक उर्जाको अभिबृद्धिले समाजमा पार्ने सकारात्मकताको मापन असम्भव छ । आन्तरिक पर्यटनमार्फत देशभित्र आर्थिक गतिविधि संगै खुसी र सुखको सञ्चार गर्ने काममा नेपाली पर्यटन संस्कृति विभिन्न आयाममा फैलिएको छ । देशभिको पर्यटन उद्योगलाई संकटको अवस्थाबाट सम्भावनाको अवस्थामा लैजानका लागि समाजलाई नेतृत्व गर्ने र समाजको अभिभावकत्व गर्ने वर्गबाट ठिक पहल हुन आवश्यक छ ।
कोभिडपछि अर्थतन्त्र तहसनहस भएको र पर्यटन क्षेत्रमा निकै ठूलो असर परिरहेको समयमा स्वास्थ्य र समृद्धिका लागि विभिन्न संघसंस्थाहरुले सँस्थागत पहल नै गरेर साना दुरीका पदयात्राहरु सञ्चालन भए । देशभित्रै आन्तरिक पर्यटन स्थानीय चहलपहल र तनाव व्यवस्थापनका लागि पनि जरुरी थियो । थलिएको अर्थतन्त्रमा सानो खर्चबाटै सञ्चालन गर्न सकिने भएकाले पनि पर्यटनमा पदयात्रा अर्थात हाइकिङ् सजिलो, छोटो, छिटो र आनन्ददायी विधा हो । छोटो दुरीका पदयात्राहरुले पर्यटन क्षेत्रमा गतिशिलताको संकेत गर्ने र पर्यटन क्षेत्र चलायमान गराउने काम गर्छन् । लामो दुरीका ट्रेकिङ तथा छोटो दुरीका यात्रा अर्थात हाइकिङ्ले पर्यटन क्षेत्रलाई आन्तरिक रुपमा चलायमान गराउन सफल भयो । यसले पर्यटन उद्योगलाई चलायमान गराउनुको साथै सुरक्षित पर्यटन गन्तव्य रहेको सन्देश सम्प्रेषण भएको मान्न सकिन्छ ।
बस्तीको नजिकैसम्म केही मानिसहरु संगठित भएर थोरै खानेकुराहरु र आपतकालीन सामग्रीहरुको ब्याकप्याक लिएर गरिने यात्रालाई हाइकिङ भन्दै नामाकरण गरिएको क्यानाडा र अमेरिकाका स्थानीय पर्यटन प्रवद्र्धकहरुले हो । तर आज संसारभर हाइकिङ पर्यटन व्यवसायको प्रवद्र्धनको सन्देशवाहक विधाको रुपमा छ । नेपालमा पनि पछिल्ला दिनहरुमा जहाँ तहाँ पदमार्गहरु पहिचान गर्ने, प्राचीन र सांस्कृतिक तथा पुरातात्विक पहिचानमा आधारित मार्गहरुलाई पुनस्र्थापित गर्ने र पर्यटक आकर्षित गर्ने प्रयत्नहरु भईरहेका छन् । पछिल्ला दिनमा संघीय, प्रदेश र स्थानीय सरकारको पर्यटन केन्द्रित कामहरु पनि यसरी पर्यटन प्रवद्र्धनमूलक विधाको रुपमा हाइकिङको विस्तारमा केन्द्रित रहेको छ । यसरी हाइकिङ्ले खोजेका नयाँ पर्यटन गन्तव्यहरु र आन्तरिक तथा बाह्य पर्यटकहरुको गाउँ गाउँमा हुने चहलपहलले पर्यटनमार्फत दिगो आर्थिक विकासको सम्भावना व्युँझाएको छ ।
पर्यटन हरेक नागरिकको घरघरदेखि ठूला व्यापारी व्यवसायी हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय उद्यमीहरुसम्म आर्थिक चहलपहल गराउने एउटा सशक्त माध्यम हो । यसकारण नै पर्यटन क्षेत्रलाई दिगो आर्थिक विकासको आधारको रुपमा लिइन्छ । पर्यटकका लागि स्वागत सत्कारमा प्रयोग हुने स्थानीय उत्पादनहरु, उनीहरुलाई खुवाइने अर्गानिक खाना, स्थानीय समुदायको प्राचीन र मौलिक शैलीको घरबास (होमस्टे), पर्यटकले मन पराउने कोसेलीहरु, हस्तकला लगायत सीपमा आधारित सामग्रीहरु लगायत ग्रामीण र दिगो आर्थिक विकासका आधार हुन् । यसको सन्तुलित विकासले पर्यटन क्षेत्रकै पुनरुत्थानका लागि महत्वपूर्ण काम गर्न सक्छन् ।
पर्यटन क्षेत्र उकास्न र दिगो आर्थिक विकासको गति निर्धारण गर्नु यतिबेलाको राष्ट्रिय कर्तव्य हो । अर्थतन्त्रमा योगदान दिनका लागि, पर्यटन क्षेत्र चलायमान रहेको सन्देश सम्प्रेषित गर्नका लागि र अझ महत्वपूर्ण कुरा नागरिकमा पर्यटन संस्कृति सुख र खुसीको आधार हो भन्ने अनुभूत गराउनका लागि हाइकिङ लगायत पर्यटनका विविध विधाहरुलाई अभियानको रुपमा अगाडि बढाउनु आवश्यक छ । स्वास्थ्य र समृद्धि एक अर्काको परिपूरक हो । स्वास्थ्य सुख र खुसीको पनि आधार हो ।
पर्यटनमार्फत दिगो आर्थिक विकासको आधार निर्माण गर्न सकिन्छ भन्ने विश्वास राज्यले निर्माण गर्न आवश्यक छ । त्यसका लागि सरकार, निजी क्षेत्र, राजनीतिक दलहरु र सरोकारवाला सम्पूर्ण तह तप्काबाट त्यो किसिमको वातावरण बन्नुपर्छ । पर्यटनमैत्री नीति निर्माण गर्नु पर्छ । संशोधन आवश्यक मानिएका नियम कानुनहरु संशोधन गर्नुपर्छ । राजनीतिक दलहरुले पनि पर्यटन उद्यम अनुकुल नीति र कार्यक्रमका लागि अन्तरपार्टी र सार्वजनिक बहस चलाउन जरुरी छ । कोरा राजनीतिका कुरा भन्दा काम, उद्यम र व्यस्ततासंग राजनीतिलाई जोड्न जरुरी छ । अब राजनीतिका सवालहरु बुझाउँदा पनि जनतालाई भेला गराएर भन्दा घुम्दै, काममा सघाउँदै जनताका घरघर पुगेर आफ्ना एजेण्डाहरु भन्ने अभ्यासले पनि राजनीतिलाई जनतासंग जोड्ने नयाँ शैली स्थापित हुन सक्छ । अर्को महत्वपूर्ण कुरो ग्रामीण अर्थतन्त्र बलियो बनाउने पनि हो । ग्रामीण अर्थतन्त्र बलियो बनाउने एउटा पक्ष ग्रामीण पर्यटन हो । ग्रामीण पर्यटन दिगो आर्थिक अभियान भन्ने मूल ध्येय लिएर राजनीतिक अभियान सञ्चालन गर्न जरुरी छ ।
राष्ट्रिय रुपमा हेर्ने हो भने पर्यटनमा आधारित अर्थतन्त्रमा विदेशी पर्यटकहरुको पनि विशिष्ट योगदान छ । पर्यटकको रुपमा भारतीय पर्यटक पहिलो ठूलो स्रोत हो । त्यसपछि अमेरिका, चीन, युके, अष्ट्रेलिया, बेलायत बढी पर्यटक आउने देशका रुपमा छन् । यसरी आउने पर्यटकहरुलाई लक्षित गर्दै देशभित्र सांस्कृतिक, धार्मिक, पर्यापर्यटकीय महत्वका विषय र क्षेत्रहरुमा भौतिक निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सक्दा पर्यटन उद्योगलाई थप टेवा मिल्छ । नेपाली आकाश सुरक्षित छ भन्ने अनुभूति गराउने देखि नेपालको पर्यटन क्षेत्रमा विवादमा आउने सवालहरुको सही निरुपण गर्न सक्दा संसारभर नेपालको पर्यटन तीब्र गतिमा प्रचार हुने निश्चित छ । फेक रेस्क्यु, विमान दुर्घटना, पर्यटकमाथि हुने हिंसा र दुव्र्यवहारका घटनाहरुले केही हदसम्म गएको नकारात्मक सन्देशप्रति सरकार सम्वेदनशील हुने हो भने पर्यटन उद्योगमार्फत अझ दिगो आय हुने निश्चित छ ।
नेपाली अर्थतन्त्रको प्राणको रुपमा रहेको ग्रामीण जनजीवनलाई ग्रामीण र दिगो अर्थोपार्जनमा केन्द्रित गराउने सम्भावना पहिचानका लागि नेकपा एमालेले मध्यपहाडी लोकमार्गको यात्रा सम्पन्न गरेपश्चात दिगो आर्थिक विकासका लागि पर्यटनमार्फत हुन सक्ने समृद्धिका प्रयत्नहरुको खोजी भएको छ । नागरिकलाई आशा जगाउँदै समृद्धिका सम्भावना खोज्ने गरी पार्टीका विभिन्न तहका कमिटिहरुमार्फत मौलिक अभियानहरु सञ्चालन गर्न गरिएको आह्वान अनुसार केही कमिटिहरुले पर्यटन प्रवद्र्धनका उद्धेश्यले केही कार्यक्रमहरु आयोजना पनि गरिसकेका छन् । यी कार्यक्रमहरुको सार ग्रामीण अर्थतन्त्रको विकासका लागि ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नु नै हो । यो प्रयास पर्यटन व्यवसाथ उत्थानका लागि पनि एउटा योगदान हो । नागरिकमा पर्यटन संस्कृति स्थापित गर्ने प्रयत्न हो । अझ सारमा राष्ट्रिय संकल्प सुखी नेपाली समृद्ध नेपाल अन्तर्गत नागरिकलाई सुखी बनाउने एउटा प्रयत्न हो । यस्ता अभियानहरुलाई अझ बृहत र राष्ट्रिय रुपमा सञ्चालन गरेर पर्यटनमार्फत समृद्धिको सम्भावनामा एउटा बृहत बहसको सुरुवात गर्नु आवश्यक छ । जनस्तरमा बृहत राजनीतिक अभियानको रुपमा समृद्धिको सारथी पर्यटन क्षेत्र हो भन्ने बुझाउन गरिने प्रयत्नले नयाँ सम्भावनाको ढोका खोल्नेछ ।
देशभित्र पर्यटनमैत्री अभियानहरु सञ्चालन हुने र सर्बपक्षीय रुपमा साझा संकल्पस्वरुप अभियान सञ्चालन हुने हो भने त्यसले विदेशी पर्यटकहरुको नेपाल बसाइ लम्बिनेछ । हाल विदेशी पर्यटकहरुको नेपाल बसाइको दर औषत २ हप्ता रहने गरेको छ । राष्ट्रिय अभियानका रुपमा हाइकिङ, ट्रेकिङका लागि नेपाल सुरक्षित गन्तव्य हो र देशभित्र पनि आन्तरिक पर्यटनका लागि पर्यटन संस्कृति नै छ भन्ने सन्देश दिन सकियो भने विदेशी पर्यटकको नेपाल बसाइ अवधि लम्बिने निश्चित छ ।
राजनीतिक दलले समाज र देशको आवश्यकताका आधारमा आफ्ना अभियानहरु सञ्चालन गर्नुपर्छ । समृद्धिको बहस गर्ने यो समयमा नेपाली राजनजीतिक दलहरुले प्रतिष्पर्धा नै गरेर ग्रामीण अर्थतन्त्र चलायमान गराउन, नागरिकलाई आफ्नो थालथलोमा समृद्धिका सम्भावनाहरु खोज्नका लागि प्रेरित गर्नुपर्छ । ग्रामीण अर्थतन्त्रको विकास र विस्तारका विकल्पहरुको पहिचान गर्न सघाउनुपर्छ । नेपाल जस्तो जैविक विविधतायुक्त र बहु पारिस्थितिकीय प्रणाली भएको प्राकृतिक पर्यटनमैत्री देशमा पर्यटनलाई समृद्धिको प्रमुख स्रोतको रुपमा स्थापित गराउनुपर्छ ।
केही नीतिगत पक्षहरुलाई देशको जिम्मेवार राजनीतिक दलले सत्तापक्षमा होस् वा प्रतिपक्षमा रहँदा होस् जिम्मेवार ढंगले नेतृत्व गर्नुपर्छ । अर्थतन्त्रको सुदृढीकरणका लागि नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन, आवधिक पुनरावलोकन तथा कुटनीतिक पहल प्रयत्नहरुलाई दलीय राजनीतिका चेपुवामा पार्नु हुँदैन । नेपालले सन् २०१६ देखि २०२५ को दशकलाई लक्षित गरी विशेष पर्यटन रणनीति बनाएको थियो । उक्त रणनीतिअनुसार काम भयो भएन ? कोभिड बाहेक अन्य कारणहरु पनि त्यसको कार्यान्वयनमा बाधक बनेर उभिए कि भन्ने विषयमा बहस हुनुपर्ने भएको छ । निरन्तर सरकार फेरिइरहने कारणले गर्दा रणनीतिक योजनाको कार्यान्वयनमा जुन गति हुनुपर्ने हो नभएका कारण पनि लक्ष्य अनुसार पर्यटन नआएको हुनसक्ने सम्भावना देखिएको छ ।
विशेष गरी संघीयताको कार्यान्वयन पश्चात स्थानीय तहका निर्वाचनहरु सम्पन्न गरी नयाँ नेतृत्वहरुले स्थानीय स्तरमा गरेका कामहरु र गर्ने कामहरुलाई राष्ट्रिय आवश्यकता, राष्ट्रिय लक्ष्य र संकल्पहरुसंग जोड्न कति सक्यौं ? भन्ने पनि समीक्षा हुन जरुरी छ । स्थानीय निर्णय गरेर बजेट विनियोजन गर्ने र खर्च गराउने अधिकार दिँदैमा सम्पूर्ण समस्या समाधान हुने र राष्ट्रिय आय एवम् अर्थतन्त्रमा विशेष सुधार हुने अवस्था पनि त देखिइरहेको छैन । स्थानीय तहहरुका काम गराइने स्थानीय रोजगार निर्माण हुन सकेको छैन । ग्रामीण कृषि उपजहरु योजनाबद्ध ढंगले उत्पादन हुने र बजार पहुँच निर्माण गर्न सकिरहेका छैनन् । यस्तै पर्यटनमा पनि हरेक डाँडा थुम्काहरुमा भ्यू टावर र पिकनिक स्पोट बनाउने नाममा अनावश्यक ठाउँमा पनि लगानी खेर गईरहेको पनि व्यापक गुनासो आइरहेको अवस्थामा हाम्रा बहसहरु त्यसतर्फ पनि जान आवश्यक छ । पर्यटन उद्योगमा लगानी गर्दा स्थानीय, राष्ट्रिय वा प्रादेशिक महत्वका क्षेत्रहरु प्राथमिकताको वर्गीकरण गर्ने र त्यसतर्फ स्थानीय नेतृत्वहरुलाई थप जिम्मेवार बनाउन राजनीतिक दलहरुले पनि आफ्ना जनप्रतिनिधिहरुलाई निर्देश गर्नु उपयुक्त हुन्छ ।
लगानीका लागि व्यावसायिक वातावरण बनाउने विषयमा पनि हामीले पर्याप्त विश्वास जित्न सकिरहेका छैनौ । दिगो लगानीका लागि ठूला पर्यटन पूर्वाधार निर्माण हुनु पर्छ । पर्यटन पूर्वाधारका लागि लगानी गर्नेलाई आइपर्ने समस्याहरु समाधान गरिदिँदै लगानी आकर्षित गर्नुपर्नेमा राजनीतिक दलसंग जोडिएका व्यक्तिहरुबाट अनेकन समस्याहरु आइपर्ने, दलका कार्यकर्ता र भातृ संगठनहरुका नाम व्यावसायिक अवरोधमा जोडिने, सरकारी कार्यालय र कर्मचारीहरु विवादमा आउने जस्ता घटनाहरुले पर्यटन उद्योगमा दिगो लगानी व्यवस्थापनका लागि अवरोध भईरहेको छ ।
हाम्रा पर्यटन कोसेली तथा अन्य उत्पादनहरुको स्थानीय मौलिकता सहित ब्राण्डिङ गर्ने विषयमा पनि समस्याहरु सिर्जना भईरहेका छन् । हाम्रा कतिपय कानुनहरु यसमा परिमार्जन गर्न आवश्यक महसुस भएको छ त्यसको पर्याप्त परिमार्जन गर्न सकिएको छैन भने त्यसलाई पनि गर्नुपर्छ । कतिपय काठका सामग्रीहरु पर्यटकले औधी मन पराउँछन् तर त्यो रुखको व्यावसायिक खेती विकास गर्न सकिएको छैन, प्राचीन रुखहरुको लोप हुन लागिसक्यो । यस्तो काठका भाँडा बनाउने रैथाने समुदाय पेशाबाट नै विस्थापित हुने अवस्था बनिसक्यो यस्तो अवस्थामा हाम्रा स्थानीय सरकार तथा अन्य सरकारको नीति रणनीति यस्ता विषयमा साविक वनसम्बन्धि कानुन र उद्योगसम्बन्धि कानुनभन्दा पर्यटनकेन्द्रित नीति र योजनामा आधारित भएर जान सक्ने अवस्था निर्माण गर्नुपर्छ । यस्ता उत्पादनहरुलाई ब्राण्ड बनाएर पर्यटन कोसेलीमा स्थानीय समुदाय व्यावसायिक ढंगले उठाउन सकिन्छ ।
यस्ता कतिपय विषयहरुलाई कसरी सरकारले काम गर्ने ? प्रतिपक्षमा रहँदा कसरी खबरदारी गर्ने ? अन्तरसरकार जिमेवारीहरु के हुने ? त्यसको समन्वय कसरी गर्ने ? पर्यटन कुटनीति कस्तो हुने ? कुटनीतिक जिम्मेवारीमा रहेकाहरुले कसरी काम गर्ने ? लगायतका सवालमा अध्ययन अनुसन्धान गर्ने तथा नीतिगत धारणा बनाउन राजनीतिक दलहरुसंग यो विषयमा काम गर्ने अलग्गै विज्ञ संरचना हुन आवश्यक छ । तब मात्रै जनताको जीवनसंग जोडिएको र राष्ट्रको अर्थतन्त्रसंग जोडिएको पर्यटन क्षेत्रको विकासमा राजनीतिक दलले काम गरेको प्रमाणित हुन्छ ।
समृद्धिको ग्रेट डिबेटको रुपमा पर्यटनलाई आधार बनाइनुपर्छ । समृद्धिको ग्रेट डिबेटले पर्यटन मार्फत दिगो आर्थिक विकासको आधार निर्माण गर्नेछ । यसले राजनीति र अर्थतन्त्रको सही संयोजन गर्नेछ । आशा र सम्भावनाको सही फ्युजन गर्नेछ । सुखी नेपाली समृद्ध नेपालको एउटा खुट्किलो निर्माण गर्नेछ ।