विकासका बहसमा असीमित सम्भावनाको क्षेत्रका रुपमा पर्यटनलाई हेर्ने र विश्लेषण गर्ने काम पछिल्ला दिनमा तीव्र रुपमा भएको छ । पर्यटन विकासका कोणबाट नेपाली सम्भावना अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित भईसकेको छ । पर्यटनमा प्राकृतिक स्रोत अनुपम वस्तु हो । निर्मित भन्दा प्राकृतिक वस्तु पर्यटनका दृष्टिले उच्च कोटीको हुन्छ । पर्यटन वस्तु कम प्रचार बढी हो । यद्यपि वस्तु नै ओजपूर्ण हुँदा प्रचारले न्याय पाउने पक्का हुन्छ ।
उच्च स्थानमा पुगेर चारैचिर देख्ने मन कसलाई हुँदैन र ? को नराम्रो मान्ला र यस्तो ठाउँमा पुग्दा ? साँच्चै यस्ता ठाउँहरु आफैंमा रमाइला हुन्छन् र महत्वपूर्ण पनि तर पनि कतिपयले यस्तो स्थानमा पुग्ने कल्पनासम्म पनि गर्न सक्दैनन भौतिक रुपले नै कतिपयको मन भएर पनि यस्ता ठाउँहरु हुँदैनन् । राजधानीमै रहेर पहाडी क्षेत्रको अनुभव लिनका लागि ललितपुरका विभिन्न यस्ता प्राकृतिक स्रोतहरु छन् जहाँबाट भरपुर आनन्द अनुभव गर्न सकिन्छ । त्यस्ता स्थानहरुमा गएर पनि रुख तथा बुट्यानहरुकै कारण र सानातिना अवरोधले पनि त्यस्तो देख्न नसकिने अवस्थामा भ्यु टावर (दृश्यावलोकन गर्ने स्थान) र दुरवीनको व्यवस्था गर्ने गरिन्छ ।
ललितपुर जिल्लाको शहरी क्षेत्रलाई उपत्यकाको रुपमा परिभाषित गर्ने सौभाग्य जुराईदिएका भञ्ज्याङ र थुम्काहरु राजधानीको दृश्यावलोकनका लागि प्रथम चरणका पर्वत रहेका छन् । पदमार्गमा पर्ने तथा मोटरबाटोबाट पुग्न सकिने यी ठाउँहरुमा सबैभन्दा नजिक महालक्ष्मी नगरपालिका १० लामाटारको लाँकुरीभञ्ज्याङ हो, जहाँ मोटरबाटोबाट पुग्न सकिन्छ । ग्वार्कोबाट १५ किमी मोटरबाटोबाट यो स्थानमा पुग्न सकिन्छ । यहाँ ठूलासाना रिसोर्ट, होमस्टेहरु र रेष्टुरेण्ट तथा खाजाघरहरु छन् । विहान सूर्योदय र साँझ सूर्यास्तको दृश्य हेर्ने राम्रो अवसर पाइने लाकुरीभञ्ज्याङमा मनमोहन स्मृति भ्यू टावरको व्यवस्थाले उपत्यका र हिमाल एकै स्थानबाट हेर्न सकिन्छ ।
यस्तै महालक्ष्मी १० र गोदावरी नगरपालिका वडा नं २ को सीमाक्षेत्रमा रहेको भिमेश्वरधाम धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको नमूना स्थान हो । बासुकीबाट २ किलोमिटर पूर्व दक्षिणतर्फ डाँडामा विपश्यना ध्यानकेन्द्र नजिकै रहेको यो पर्यटकीय सम्भाव्यता युक्त ठाउँले यहाँको पर्यटन विकासको दिगोपनमा पर्याप्त योगदान गर्न सक्छ । विशंखुनारायणको कोटडाँडा अर्को यस्थो सम्भाव्यता युक्त स्थान हो । यो पदमार्गमा पर्छ । एकदिने पदयात्रामा जाँदा विशंखुनारायण मन्दिरबाट माथि थुम्कामा पुगिने यो स्थान उपत्यकाका तीनै जिल्ला र हिमश्रृंखलाको एकसाथ अवलोकन गर्न सकिने भ्यू प्वाइन्ट हो । यहाँ होमस्टेको सम्भावना विकास गर्न सकिन्छ । तामाङ समुदायको वस्ती रहेको यो स्थानमा अर्गानिक खेती र लोकल कुखुराको मासु, ढिँडो र कोदोको रक्सी पाइन्छ ।
गोदावरी १ ढुंङ्गेसाँघुमा रहेको १०८ धारा मुक्तिनाथ मन्दिरको दर्शन गर्दै मुलपानी हुँदै पुग्न सकिने यो भ्यू प्वाइन्टमा कोटडाँडा रिसोर्ड, जिपलाइन र जंगलयात्राको अनुभव गर्न सकिन्छ । यो स्थानमा साहसिक खेल प्याराग्लाइडिङको परीक्षण उडान पनि भईसकेको छ । फुल्चोकी उपत्यकाको नजिकको अर्को पर्यटकीय गन्तव्य हो जहाँबाट काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यो उपत्यकातर्फ फर्किएका स्थानहरुमध्ये सबैभन्दा अग्लो स्थान हो । नेपाली सेनाद्धारा सुरक्षा प्रदान गरिएको राष्ट्रिय सूचना प्रविधिको महत्वपूर्ण स्थान फूल्चोकी पर्यटकीय, धार्मिक तथा पर्यावरणीय महत्वको स्थान हो । यस्तै अर्को महत्वपूर्ण स्थान बडिखेल र लेलेबीचको भञ्ज्याङ् हो । बडिखेलको तपेश्वर महादेव मन्दिर, गोदावरी १३ झरुवारासीको सन्तानेश्वर मन्दिर, गोदावरी ३ को अघोरनाथ गुफा लगायतका स्थानहरु काँठ क्षेत्रका पर्यटकीय महत्वका क्षेत्र हुन् ।
गोदावरी नगरपालिका वडा नं ७ मा पर्ने अर्को उपयुक्त पर्यटकीय स्थल सुन्तोलीडाँडा देउराली हो । देवीचौरको यो सुन्तोलीडाँडा देउराली क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय संघसंस्था, सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय लगायतको सहकार्यमा विभिन्न कामहरु भईरहेका छन् ।
कोञ्न्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लुको लभ डाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यका हिम श्रृंखलाको अवलोकन गर्न सकिन्छ यस्तै वडा नं ३ दलचोकी अर्को यस्तो महत्वपूर्ण स्थान हो जहाँबाट उत्तरतर्फ लहरै हिमश्रृंखला देख्न सकिन्छ भने काठमाडौं उपत्यकाको दृश्यपान गर्न पनि निकै राम्रो स्थान छ भने दक्षिणतर्फ तराईको रौतहटदेखि विरगञ्जसम्म देख्न सकिन्छ । यो ललितपुरको मध्यभागमा रहेको उपयुक्त दृश्यावलोकन स्थल हो । कोञ्जोसोम गाउँपालिकाको पहिचानको रुपमा स्थापित कोञ्जोसोम पनि आफैंमा पर्यटकीय महत्वको स्थान हो ।
यस्तै बागमती गाउँपालिकाको वडा नं १ घुसेल, वडा नं ३ भट्टेडाँडा र गोदावरी नगरपालिकाको ७ देवीचौरको मध्यभागमा पर्ने राडार क्षेत्र पछिल्ला समय व्यापक चर्चामा रहेको पर्यटकीय गन्तव्य हो । उपत्यकाबाट हेटौँडा जाने छोटो बाटो कान्तिलोकपथको तिनपाने भञ्ज्याङबाट १ किलोमिटर पश्चिमतर्फको डाँडामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार क्षेत्र गुराँस अवलोकनको समयमा झन् रमणीय पर्यटकीय स्थलको रुपमा छ । बागमती गाउँपालिका ५ इकुडोलको रमिते डाँडा अर्को भ्यू प्वाइन्ट हो । वागमती ७ को चमेरे गुफा पनि प्रवद्र्धनको पर्खाइमा रहेको छ ।
महाँकाल गाउँपालिका ३ गोटिखेलको बुर्जाको डाँडो महाँकाल १ बुखेलको विमिरे भ्यू प्वाइन्टका रुपमा महत्वपूर्ण तर प्रवद्र्धनको पर्खाइमा रहेका उपयुक्त स्थानहरु हुन् । महाँकाल २ मानिखेलमा रहेको सिम्बा झरना, महाँकाल १ बुखेलको पालाजु झरना मनमोहन प्राकृतिक पर्यटकीय स्थल हुन् । महाँकाल २ गोटिखेलको कालेश्वर महादेवस्थान, वैतरणीधाम महाँकाल ४ को लोङ्तुक गुम्बा लगायतका स्थानहरु धार्मिक महत्वका पर्यटकीय स्थलहरु हुन् । कालेश्वर महादेवस्थान दक्षिण ललितपुरको यस्तो महत्वपूर्ण भ्यू प्वाइन्ट हो जहाँबाट हिमालदेखि तराईसम्म एकै स्थानबाट अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक पर्यटकीय स्थानहरुमा दलचोकी, लभडाँडा, पाथीभरा, बुर्जाको डाँडा, रमिते, कालेश्वर महादेवस्थान आदि स्थान आफैंमा अग्ला भ्यू प्वाइन्ट हुन् । व्यवस्थित विसौनीहरु र अवलोकनस्थल मात्रै व्यवस्थित भए पनि यी क्षेत्र आसपासमा पर्यटकलाई बास व्यवस्था, खानपिनका व्यवसायहरु र कोसेलीजन्य उत्पादनको अभिबृद्धिको प्रशस्तै सम्भावना छ । यस्तै महाँकाल ४ कालेश्वरमा रहेको मृगविसौना र काभ्रेसंगको सीमास्थल मानिने देउरालीको थुम्का जिल्लाकै सबैभन्दा अग्लो भ्यू प्वाइन्ट हो । यहाँबाट उत्तरमा हिमश्रृंखलाहरु पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थानहरु, पश्चिममा मकवानपुरका विभिन्न स्थान र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थानहरु देख्न सकिन्छ । यस्तै मानिखेलको खोरभञ्ज्यांगलाई पनि पर्यटकीय स्थानका रुपमा विकास गर्न सकिन्छ ।
दृश्यावलोकन स्थल बाहेक प्राकृतिक सम्पदालाई पर्यटकीय रुपमा उपयोग गर्नका लागि ऐतिहासिक तथा पुरातात्विक गुफाहरुलाई लिन सकिन्छ । जिल्लाका केही स्थान यस्ता प्राकृतिक बरदान छन् यिनको प्रचारप्रसार हुन सकेको छैन । यस्ता स्थानहरुमा गोसाइकुण्ड पुग्ने गुफाको एक विन्दूका रुपमा कुम्भेश्वर मन्दिरछेउको कुवालाई लिन सकिन्छ यहाँ जिर्णोद्धार गर्ने हो भने गुफा छ भन्ने विश्वास छ । कुम्भेश्वर मन्दिर निर्माणका क्रममा गुफा पुरेर पानी आउने स्थान मात्रै बाँकि राखिएको भनाई छ । यस्तै महालक्ष्मी १० लामाटारमा रहेको श्रृंग ऋषि गुफा, गोदावरीको अघोरी गुफा, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटिखेलबाट काभ्रेको पनौति निस्कने महादेव गुफा र प्युटारको नागगुफा जिल्लालाई चिनाउन सकिने सम्भावना युक्त गुफाहरु हुन् । चमेरे गुफा र नाग गुफा कालेश्वर प्युटार पदमार्गमा पर्छन् भने गुप्तेश्वर गुफा तिलेश्वर वैतरणी पदमार्गमा पर्छ । श्रृंग ऋषि गुफा र अघोरी गुफा लाँकुरी गोदावरी रिङ रेञ्ज पदमार्गमा पर्छन् । यी गुफाहरुमा कतै ऋषिका आश्रमको आकृतिका चट्टान त कतै महादेव मन्दिरका आकृतिका चट्टान कतै नागका आकृतिका चट्टान त कतै चमेरा रहेका छन् ।
दिगो पर्यटनका सम्भाव्यता पहिचान गर्दा जंगल सफारी तथा जंगलयात्राको सम्भावनालाई नकार्न सकिन्न । ललितपुर जिल्लाको बढी क्षेत्र पहाडी क्षेत्रमा रहेको र अधिकाँश जंगल रहेका केही क्षेत्रहरुलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ । चौघरेदेखि ठोस्नेखोलासम्मको सडकका आसपासमै वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । मूल मोटरवाटोको दायाँ वायाँ नै मृग, खरायो, कालिज, तित्रा जस्ता वन्यजन्तु तथा चराचुरुगीको अवलोकन गर्न सकिने यी स्थानबाट भित्री जंगलमा यात्रा गर्न सकिने सम्भावना देखिन्छ ।
भारदेउबाट गुप्तेश्वरको डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगविसौनासम्म हुँदै बतासेडाँडासम्मको एक दिने जंगल सफारी रुट विकास गर्न सकिन्छ । अहिले जंगल सफारीका लागि पूर्वाधार पर्याप्त नभएको अवस्थामा पनि पानी, खुल्ला चौर (जहाँ बस्न र शिविर सञ्चालन गर्न सकियोस्) भएको स्थान चयन गरी सुरु गर्न सकिन्छ । यस्तै झाडीमा गरिने द्यगकज ध्बपिष्लन, चराचुरुंगी अवलोकन गर्न सकिन्छ । यस्ता स्थानहरुमा आएका पर्यटकहरुलाई नजिकको जनजाती समुदायको झाँकी, पहिरन तथा नाचहरुको अवलोकन गराउने व्यवस्था र सांस्कृतिक कार्यक्रम राख्न सकिन्छ । जस्तै चौघरेबाट जंगल सफारी गरेर मृगविसौना पुगेका पर्यटकहरुलाई देउरालीमा तामांग समुदायको ढ्यांग्रो नाच र झाँक्री नाच देखाउन सकिन्छ ।
यस्ता रुटहरुमा यस्ता केही खुल्ला ठाउँहरुमा सरकारी जग्गामै आवासको व्यवस्था गर्ने तथा तत्कालका लागि पाल गाडेर बस्न सकिने र नजिकै जनावर अवलोकन गर्न सकिने अवस्था भएको राम्रो हुन्छ । राजधानीमा उपलब्ध पर्यटकहरु जंगल सफारीका लागि सौराहा पुग्नुपर्ने वा अन्यत्र जानुपर्ने अवस्थालाई न्युनीकरण गर्न यी स्थानमा जंगल सफारीको अनुमति दिने र ति क्षेत्रमा जंगली जनावरको संरक्षण गर्नका लागि स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरुलाई हरिण, जरायो, मृग आदिको पालन गर्न उत्साही बनाउने हो भने जंगल सफारीको रोयल्टीले सामुदायिक वनमा आश्रित समुदायको पनि हीत हुन्छ । छोटो दुरीको जंगल सफारीका लागि फुल्चोकीको जंगल पनि उपयुक्त नै हुन्छ । विशंखुको छेउबाट प्रवेश गरेर लेले निस्कने गरी जंगल सफारीको रुट विकास गर्न सकिन्छ । यस्ता स्थानहरुमा पहाडी बाटो भएका कारण बाटो निर्माण गरेर, घोडा, गधा, हात्ती आदिको प्रयोग गर्नेतर्फ अलि मिहिन योजना बनाउन जरुरी हुन्छ ।
चट्टान आरोहण Rock Climbing: पर्यटन प्रवद्र्धनको अर्को सशक्त विधा हो । साहसिकता पर्यटनको सशक्त विधा भएकोले यसको पहिचान र प्रवद्र्धन हुन जरुरी छ । महाँकाल गाउँपालिका ४ कालेश्वरमा रहेको भैरवछाँडा, ठुलादुर्लुंग गाविस र गोटिखेल गाविसमा पर्ने शिसवन पारीको कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना देखिन्छ । छोटो दुरीको चट्टान आरोहणको सम्भावना गोदावरी १३ झरुवारासीको सन्तानेश्वर महादेव मन्दिरको उत्तर पूर्वी मोहडाको कोड्कुखोलाको पहरामा पनि सम्भावना छ ।
पर्यटनको अर्को सशक्त विधा जलयात्रा र डुंगा शयर (Boating & Rafting) हो । जिल्लामा पर्यटन उद्योगकै रुपमा विकास गर्नका लागि ठाडा खोलाहरु धेरै भएका कारण र वर्षे खोला मात्रै धेर भएका कारण धेरै उपयुक्त नभए पनि डुंगा शयरका लागि धापाखेलको नागदहलाई मिनिफेवाकै नामबाट चलाउन सकिन्छ । पाटनका पोखरीहरु साना डुंगा शयरका उपयुक्त स्थानहरु हुन सक्छन् । पिम्बहाल पोखरीमा धेरै व्यवस्थित रुपमा डुंगा शयर सुरु गरेपछि त्यस क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको चाप बढेको छ । यसलाई नै उदाहरण लिएर पाटनका सबै पोखरीहरुलाई पर्यटकीय रुपमा आकर्षक र व्यवस्थित बनाएर डुंगा शयर गराउन सकिन्छ । वागमती सफाई अभियानले पूर्णता पाएपछि स्वच्छ वागमती बहन लागेपछि वल्खुबाट माल्टासम्म जलयात्रा (Rafting) सञ्चालन गर्न सकिन्छ । यो जलयात्रा र डुंगा यात्राले मात्रै पर्यटकलाई मज्जा हुने बाहेक स्थानीय समुदायलाई अरु लाभ केही नहुने भएकाले यसको अन्तिम गन्तव्यमा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गर्नुपर्छ । वल्खु माल्टा जलयात्रा पछि माल्टामा मगर संस्कृति, मगर नाच र संस्कृति झल्कने परिकार सहित कार्यक्रम गर्नुपर्छ । यता ठैवदेखि हात्तीवनसम्मको कर्मानासामा पनि जलयात्रा र डुंगा शयरको सम्भावना राम्रो छ । तर यी स्थानमा हिउँदमा पानीको सतह निकै कम हुने भएकाले जलयात्राको सम्भावना भने वर्षे याममा मात्रै हुन्छ । समुदायको परिचालन गरेर नदी सरसफाई गर्ने र जलयात्रा गराउने काम गर्न थालेपछि स्थानीय समुदाय स्वतः जागृत हुन्छ । स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढ्छ ।
प्याराग्लाइडिंग (Paragliding): साहसिक खेलका रुपमा संसारभर पर्यटक तान्ने खेल हो । प्याराग्लाइडिंग आजकल निकै लोकप्रिय खेलको रुपमा चिनिएको छ । पोखरालाई प्याराग्लाइडिंगले नै पनि चिनाएको छ भन्ने पनि गरिन्छ । विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योग अन्तर्गत प्याराग्लाइडिंगको परिचय जोड्ने हो भने पोखरा नै आउँछ । तर ललितपुरमा पनि प्याराग्लाइडिंगको सम्भावनालाई व्यवसायीहरुले आकार दिईसकेका छन् । विशंखुनारायणको कोटबाट तल फाँटसम्म आउने गरी ग्लाइडर सुरु भईसको छन् । सुरु भईसकेको प्याराग्लाइडिंगको प्रचारप्रसारलाई तिव्रता दिने काम गर्नुका साथै नयाँ सम्भाव्यता खोज्न सकिन्छ । दुरी छोटो भएकाले त्यो भन्दा अर्को उपयुक्त स्थानको खोजी गर्दा हावाको बहावको सन्तुलन मिलेको खण्डमा फुल्चोकीबाट गोदावरी ल्याण्ड गर्दा निकै राम्रो हुने देखिन्छ । ललितपुरको दक्षिणी भेकमा रहेको विमिरेचौरबाट मानिखेल फाँटमा ल्याण्ड गर्ने गरी पनि प्याराग्लाइडिङ गराउन सकिन्छ ।
दिगो पर्यटनको आधार माउण्टेन वाइकिङ (Mountain Biking) पनि हो । पर्वतीय क्षेत्रमा साइकलको प्रयोग गरेर यात्रा गर्न रुचाउनेहरुको लागि राजधानीमै माउण्टेन वाइकिंगको सम्भावना उपलब्ध गराउन सक्छ । ग्रामीण कच्ची सडक र पहाडी बाटोका कच्ची सडकमा माउण्टेन वाइकिंग अहिले पनि भईरहेको छ । यस्ता सडकहरुमा दक्षिण ललितपुर बाहिरी चक्रपथ, टिकाभैरव दलचोकी शंखु इकुडोल सडक, गोटिखेल बुखेल इकुडोल भट्टेडाँडा सडक उपयुक्त मानिन्छन् । छोटो दुरीको माउण्टेन वाइकिंगका लागि चापागाउँ देवीचौर घुसेल, चापागाउँ टिकाभैरव नल्लु, चापागाउँ टिकाभैरव दलचोकी हुनसक्छन् ।
दिगो पर्यटनमा वन्यजन्तु र चराचुरुंगी अवलोकन (Bird Watching) सशक्त विधा हो । जैविक विविधतायुक्त पर्यापर्यटकीय वातावरण, सिमसार, समशितोष्ण र शितोष्ण हावापानी तथा पृथक पारिस्थितीकीय प्रणाली र वासस्थान रहेकाले ललितपुर जिल्ला जैविक विविधताले धनी रहेको छ । यी सबै पर्यावरणीय वातावरणहरु चराचुरुंगीका लागि उपयुक्त हुन्छ । ललितपुरको सबैभन्दा चिसो र अग्लो स्थान फुल्चोकी र कालेश्वरको देउराली तथा सबैभन्दा होचो र गर्मी क्षेत्र गिम्दीको हेल्टार र माल्टा क्षेत्रमा पाइने सबै चराचुरुंगीहरु जिल्लाका पर्यटन सम्पति हुन् । नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर , कालिज, तित्रा, भदर्राई, बट्र्टाई, ढुकुर, जस्ता पक्षीहरु रहेका छन् । सारस, हाँस, परेवा, चील, हुचिल, लाटोकोसेरो, कोइली, सुगा, भँगेरा, बाज आदि चराहरु अवलोकन गर्न पाइन्छ । यी चराहरुको अवलोकन पनि अध्येता तथा आकांक्षीहरुका लागि उपयुक्त हुन्छ ।
शिकार (Hunting) तथा माछा मार्ने कार्य (Fishing) पर्यटकका रुचीका विषय हुन् । जंगलमै गएर शिकार गर्ने शिकार आरक्ष नभए पनि कालिज फार्महरुमा गएर कालिज मार्ने र आफैंले पकाउने एवम् माछा मार्ने कार्य पनि आफैंमा बडो आकर्षणको विषय हो । खास खास क्षेत्रमा माछाका भुरा छाड्ने र त्यो स्थानमा ती भुराहरुको संरक्षण र विकासका लागि स्थानीय समुदायलाई सचेत बनाई परिचालन गर्ने हो भने माछा मार्ने कार्यका लागि पनि पर्यटकहरु आकर्षित हुन्छन् । असला माछा तथा विभिन्न प्रजातीका माछाहरु खोलामा छोडिने हो भने टुंगुन खोला, ठोट्ने खोला, खानी खोला, दुर्लुंग खोला लगायतका स्थानहरुमा माछा मार्नका लागि पर्यटकहरु आकर्षण गर्न सकिन्छ । यस्तै नल्लु खोला, नख्खु खोला, कोड्कु कर्मानासा खोलामा पनि माछाका भुरा छाड्ने र संरक्षण गर्ने काम स्थानीय समुदायलाई जिम्मा लगाएर पर्यटकलाई माछा मार्ने सुविधा दिएर आकर्षण गर्न सकिन्छ ।
भारदेउदेखि नख्खुसम्मको खोला ढुंगाखानी तथा क्रसरका कारण प्रदुषित भएको र आसपासको समुदायले कृषि लगायत विभिन्न माटोमा प्रयोग गरेका रसायन र सिधै खोलामा फोहोर फाल्ने गरेका कारण अहिले माछा मार्ने कार्य तत्कालका लागि उपलब्ध हुन सक्दैन तर समुदायको सशक्तिकरण पछि यो सम्भव छ ।
घोडचढी (Horse Riding) विशंखुको कोटडाँडा र दलचोकी क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाएर घोडचढीको सम्भावना विकास गर्न सकिन्छ । कोटडाँडामा घोडचढीबाट गएर प्याराग्लाइडिंगबाट झर्ने दुबै साहसिक खेल पर्यटनसंग सम्बन्धित विषय भएकाले व्यवसायीहरुले घोडाको व्यवस्था गर्दा राम्रो हुने देखिन्छ । अरु स्थानहरुका पनि घोडचढीलाई विकास गर्न सकिन्छ ।
कृषि पर्यटन (Agro Tourism) नेपालको मौलिक र दिगो पर्यटनको आधार हो । कृषिमा आधारित पर्यटन पनि ललितपुरमा निकै आशलाग्दो सम्भावनामा छ । चियाका कारण इलाम प्रसिद्धि कमाएको छ । कफीका कारण गुल्मीले प्रसिद्धि कमाएको छ । ललितपुरको दक्षिणी भेकमा अहिले चिया र कफीको व्यावसायिकताले इलाम र गुल्मीलाई माथ गर्ने अवस्था छ । अहिले पनि चिया बगान हेर्नकै लागि इलाम जाने कृषि पर्यटकलाई ललितपुरको दक्षिण पूर्वी खण्डमा आकर्षित गर्न सकिन्छ भने सुदूर दक्षिणी भेकमा कफीका पारखी तथा कफीको अवलोकन गर्न चाहनेलाई लैजान सकिन्छ । यस्तै जडिबुटी खेतीको व्यावसायिकताले पनि पर्यटकलाई आकर्षित गर्ने अवस्था देखिएको छ । यसबाहेक पर्यटकलाई कोसेलीको रुपमा कृषि उपजको प्रवद्र्धन र विस्तार गर्दै कृषि पर्यटनलाई दिगो पर्यटनको आधारको रुपमा विकास गर्न सकिन्छ ।
गुफा ध्यान (Cave Meditation) धार्मिक, आध्यात्मिक तथा स्वास्थ्य पर्यटनका दृष्टिले धेरै उपयोगी विधा हो । मनोक्रान्ति दर्शनशास्त्री डा.योगी विकासानन्दले ध्यान तथा योगका लागि ललितपुरको काँठ आसपासका शान्त र सुन्दर हरियालीयुक्त क्षेत्रलाई उपयोगी मानेर २० वर्षभन्दा अगाडिदेखि ध्यानकेन्द्र सञ्चालन गर्नुभएको छ । ब्रम्हाकुमारी राजयोग केन्द्रले पनि ललितपुरका विभिन्न स्थानमा ध्यान केन्द्र सञ्चालन गरिरहेको छ । निरोगधामले पनि दलचोकीमा ध्यानकेन्द्र सञ्चालन गरिरहेको छ । गोदावरी २ कोटडाँडामा विपश्यनाको ध्यान केन्द्र छ । यसले ध्यानका लागि उपयोगी स्थानको पुष्टि भएको छ । प्राचीन कालमा ऋषिमुनीहरुले ध्यान गरेको सन्दर्भमा गुफाहरुको महत्व भएजसरी गुफामा उपयुक्त वातावरण तयार गरेर शान्तपूर्वक ध्यानमा बस्न चाहनेहरुका लागि गुफाध्यानको व्यवस्था पनि गर्न सकिन्छ ।
दिगो पर्यटनका लागि पर्यटकीय गन्तव्य आसपासका वस्तीहरु पर्यटनमैत्री बस्ती हुनुपर्छ । पर्यटकलाई सम्मान गर्ने, अतिथि सत्कारलाई आफूहरुको गर्वको विषय ठान्ने स्थानीय समुदाय भएको क्षेत्रमा पर्यटन व्यवसायको दिगोपन सम्भव हुन्छ । पर्यटनलाई समृद्धिको आधार मान्ने हो भने पर्यटनमा आधारित उद्यमलाई स्थानीय तह, प्रदेश तथा संघीय सरकारले आफ्नो दायरा र क्षेत्रअन्तर्गत सुविधा दिने, प्रवद्र्धन र प्रोत्साहनका कार्यक्रमहरु अगाडि सार्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ०९:०८