मलेसियामा नेपाली कामदारसहितलाई न्यूनतम तलब २ हजार रिंगिट कायम
क्वालालम्पुर । मलेसियाले कामदारको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट पुर्याउने घोषणा गरेको छ । नयाँ तलबमान सन् २०२७ जुनदेखि लागू हुनेछ ।
प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार संसद्को तल्लो सदन देवान रक्यातमा बजेट २०२७ प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यो घोषणाबाट नेपाली कामदार पनि लाभान्वित हुनेछन् । हाल न्युनतम १७ सय रिंगेट अर्थात करीव ६८ हजार कमाउने नेपाली कामदारले अब न्युनतम ८० हजार पाउनेछन् ।
उनका अनुसार वार्षिक कारोबार ५० मिलियन रिंगिट अर्थात् ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यम ९एमएसएमई० लाई भने नयाँ न्यूनतम तलब लागू गर्नबाट छुट दिइनेछ । ती व्यवसायलाई आफ्नो व्यावसायिक मोडल अनुकूल बनाउन समय दिन यस्तो व्यवस्था गरिएको उनले बताए।
नयाँ न्यूनतम तलबबाट ४० लाखभन्दा बढी कामदार लाभान्वित हुने सरकारको अनुमान छ ।
“कामदारको उत्पादकत्व र तलबबीचको अन्तर घटाउनुपर्छ। आम्दानीको वृद्धि मूल्यवृद्धिसँग तालमेल नहुँदा जीवनयापनको लागतको भार बढिरहेको छ,” अनवरले भने।
मलेसिया सरकारले न्यूनतम तलबबाहेक अर्धदक्ष कामदार र स्नातक उत्तीर्ण जनशक्तिका लागि सुरुआती मासिक तलब कम्तीमा २ हजार ५ सय रिंगिट तोक्ने पनि जनाएको छ। देशको तलब संरचनामा सुधार ल्याउने योजनाअन्तर्गत यस्तो व्यवस्था गर्न लागिएको अनवरले बताए ।
उनका अनुसार न्यूनतम तलबले कामदारको आम्दानीको आधारभूत सीमा मात्रै बढाउँछ । तर, दक्ष कामदारले आफ्नो योग्यता र क्षमताअनुसारको तलब नपाइरहेको अवस्था पनि सम्बोधन गर्नुपर्ने उनले बताए।
सरकारसँग सम्बद्ध लगानी कम्पनी ९जीएलआईसी० र सरकारी स्वामित्वका कम्पनी ९जीएलसी० ले पनि कामदारको जीवनयापनका लागि तोकेको न्यूनतम तलबको मापदण्ड मासिक ३ हजार १ सय रिंगिटबाट बढाएर ३ हजार ४ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएका छन्। यसबाट करिब २ लाख ३० हजार कामदार लाभान्वित हुने अनवरले बताए।
बैंकिङ तथा तेल र ग्यास क्षेत्रमा कार्यरत केही ठूला रोजगारदाताले पनि तुलनात्मक रूपमा उचित तलब लागू गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रका अन्य रोजगारदातालाई समेत त्यसको अनुसरण गर्न आग्रह गरे ।
यसैबीच, अवैध रूपमा काम गरिरहेका विदेशी कामदारको रोजगारी नियन्त्रण गर्न सरकारले करसम्बन्धी व्यवस्थामा पनि कडाइ गर्ने भएको छ।
एमएसएमईबाहेकका कम्पनीले कर्मचारीको तलब खर्चमा कर छुट दाबी गर्न तलब रोजगार ऐनले अनुमति दिएका भुक्तानी विधिअनुसार बैंक खातामार्फत भुक्तानी गरेको हुनुपर्ने अनवरले बताए।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्