Logo

को होलान् अर्थशास्त्रका नोवल पुरस्कार विजेता ?

ललित सन्देश २०८३ आश्विन २६, १०:३४ AM
को होलान् अर्थशास्त्रका नोवल पुरस्कार विजेता ?

स्टकहोम। मौद्रिक नीति, व्यवहार अर्थशास्त्र, प्रविधि र आर्थिक विकास यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सम्भावित क्षेत्रका रूपमा चर्चामा छन्। ससेक्स विश्वविद्यालयका प्राध्यापक रिचर्ड टोलले व्यवहार अर्थशास्त्रका अमेरिकी विद्वान् कोलिन क्यामरर, जर्ज लोवेन्स्टाइन र म्याट राबिन सम्भावित विजेता हुन सक्ने बताएका छन्।

मौद्रिक नीतिका विज्ञ माइकल वुडफोर्ड पनि बलियो दाबेदार मानिएका छन। उनको प्रमुख अनुसन्धानमूलक पुस्तक सन् २००३ मा प्रकाशित भएको थियो। नोबेल समितिले प्रायः अनुसन्धान प्रकाशित भएको २० देखि २५ वर्षपछि सम्मान गर्ने गरेको विज्ञहरूको भनाइ छ।

आर्थिक विकासतर्फ टिम बेस्ली, गुइडो ताबेलिनी र डेरड्रे म्याक्लोस्की तथा अन्तर्राष्ट्रिय व्यापार, आर्थिक वृद्धि र सूचना सञ्जालका विभिन्न अनुसन्धानकर्ताको नाम पनि चर्चामा छ। नयाँ प्रविधिले बजार र सार्वजनिक नीतिमा पार्ने प्रभावको अध्ययन गर्ने अमेरिकी अर्थशास्त्री सुसान एथी पनि सम्भावित विजेता हुन्।

अर्थशास्त्रतर्फको पुरस्कार सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकको सहयोगमा स्थापना गरिएको हो। यो अल्फ्रेड नोबेलको इच्छापत्रमा स्थापित मूल पाँच पुरस्कारमध्ये पर्दैन। हालसम्म ९९ जनाले यो पुरस्कार पाएकामा महिला केवल तीन जना छन्। विज्ञहरूले पुरस्कार छनोटमा लैङ्गिक सन्तुलनभन्दा अनुसन्धानको वैज्ञानिक महत्त्व र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। –रासस/ एएफपी

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्