Logo

पाकिस्तानमा प्रतिशोधको राजनीति, इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

ललित सन्देश २०८३ आश्विन २६, १०:४३ AM
पाकिस्तानमा प्रतिशोधको राजनीति, इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् । खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् ।

हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ । पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको जनाएको छ ।

एक प्रशासनिक अधिकारीका अनुसार उनलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखेर पछि अर्को स्थानमा सारिएको थियो । अधिकारीले उनलाई कहाँ सारिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । सन् २०२३ मेमा भएका सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शनपछि उनले भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहेका छन् । खान र उनको कानूनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन् ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्