विश्वभर आर्थिक बृद्धिदर सुस्त, ३.१ प्रतिशतको प्रक्षेपण, भारत सबैभन्दा अगाडि
आईएमएफद्वारा सन् २०२६ मा ३.१ प्रतिशत वृद्धिको प्रक्षेपण, युद्ध र महँगो ऊर्जाले जोखिम बढायो
बैंकक । विश्व अर्थतन्त्रको वृद्धिदर गत वर्षको तुलनामा सुस्त हुने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । सन् २०२५ मा भने विश्व आर्थिक वृद्धिदर ३.५ प्रतिशत थियो ।
मंगलबार सार्वजनिक विश्व आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनमा आईएमएफले यस वर्षको वृद्धिदरको अनुमान जुलाईमा गरिएको ३ प्रतिशतबाट बढाएर ३.१ प्रतिशत पुर्याएको हो । यद्यपि, नयाँ प्रक्षेपण गत वर्षको तुलनामा ०.४ प्रतिशत बिन्दुले कम छ । यसले विश्व अर्थतन्त्रमा वृद्धि कायम रहे पनि गति कमजोर हुने संकेत गरेको छ ।
आईएमएफका अनुसार कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी पूर्वाधारमा बढ्दो लगानीले आर्थिक गतिविधिलाई टेवा दिएको छ । प्रविधिमा आधारित लगानी र मागले केही विकसित अर्थतन्त्र तथा एसियाली आपूर्तिकर्ता देशको वृद्धिमा योगदान पुर्याएका छन् ।
तर मध्यपूर्वको युद्ध र त्यसबाट बढेको ऊर्जा मूल्यले विश्व अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि रहँदा मुद्रास्फीति बढ्ने र आर्थिक गतिविधि कमजोर हुने जोखिम छ । सार्वजनिक ऋणको बढ्दो भार र एआईमा भएको लगानीले अपेक्षित प्रतिफल दिन नसक्ने सम्भावनालाई पनि आईएमएफले चुनौतीका रूपमा औँल्याएको छ ।
कोषले सन् २०२७ मा विश्व अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । प्रमुख अर्थतन्त्रमध्ये भारतको वृद्धिदर यस वर्ष ७ प्रतिशत रहने प्रक्षेपण छ भने चीनको ४.५ प्रतिशत र अमेरिकाको २.३ प्रतिशत रहने अनुमान गरिएको छ ।
आईएमएफको निष्कर्षमा विश्व अर्थतन्त्रको अवस्था एकनासको छैन । एआई लगानीसँग जोडिएका अर्थतन्त्रले लाभ लिइरहँदा ऊर्जा संकटको मारमा परेका देशको वृद्धि कमजोर हुन सक्ने देखिएको छ ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्