पाकिस्तानमा विद्यालयको छाना खस्दा ३५ को मृत्यु
काठमाडौं, २९ असोज। पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना खस्दा ३५ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा ज्यान गुमाउनेमा ३४ जना विद्यार्थी र एक महिला शिक्षक रहेका छन्। मृतक सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका छन्।
पेशावरको दीर कोलोनिए क्षेत्रमा भएको दुर्घटनामा ४० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई परिचालन गरी उपचार सेवा उपलब्ध गराइएको छ।
दुर्घटनापछि विद्यालय परिसरमा स्थानीय बासिन्दाको ठूलो भीड लागेको थियो। छाना खसेर बनेको भग्नावशेषमा अझै केही मानिस पुरिएको आशङ्कामा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार कार्यमा पाकिस्तानी सैनिकहरूले पनि सहयोग गरिरहेका छन्। उनीहरू उद्धार तथा राहतकर्मीसँगै भग्नावशेषमा फसेका विद्यार्थी र विद्यालयका कर्मचारीलाई बाहिर निकालेर अस्पताल पुर्याउन खटिएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विद्यालय दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा उनीहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री सरिफले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित अधिकारीलाई उनीहरूको उपचारमा कुनै कमी हुन नदिन र उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएका छन्।
खैबर पख्तूनख्वाका गभर्नर फैसल करिम कुन्डीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतक बालबालिकाका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै विद्यालयको छाना खस्नुको कारण पत्ता लगाउन विस्तृत प्रतिवेदन माग गरेका छन्।
विद्यालयको छाना खस्नुको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्नेछ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्