Logo

छलफलका लागि साइबर ब्युरोमा किशोर श्रेष्ठ र हिमेश पन्तलाई बोलाइयो, पक्राउको समाचारमा प्रहरीको खण्डन

ललित सन्देश २०८३ आश्विन ३१, ८:०९ AM
छलफलका लागि साइबर ब्युरोमा किशोर श्रेष्ठ र हिमेश पन्तलाई बोलाइयो, पक्राउको समाचारमा प्रहरीको खण्डन

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र कलाकार हिमेश पन्तलाई नेपाल प्रहरीले छलफलका लागि साइबर ब्युरोमा बोलाएको जनाएको छ। श्रेष्ठलाई बिहानै निवासबाट प्रहरी टोलीले साथमा ल्याएपछि पक्राउ गरिएको भन्दै प्रेस तथा राजनीतिक वृत्तबाट आलोचना भएको थियो। त्यसपछि प्रहरीले दुवै पक्षलाई छलफलका लागि कार्यालय ल्याइएको स्पष्ट पारेको हो।

श्रेष्ठ र पन्त दुवैले आफूहरू छलफलका लागि साइबर ब्युरोमा आएको बताएका छन्। जनआस्थामा प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्यसमेत रहेका पन्तले ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरी टोली बिहान ललितपुरको नक्खुस्थित श्रेष्ठको निवास पुगेको थियो।

श्रेष्ठलाई पक्राउ गरिएको भन्दै विरोध भएपछि साइबर ब्युरोले भने उनलाई गिरफ्तार नगरिएको दाबी गरेको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले श्रेष्ठलाई पक्राउ नगरी छलफलका लागि कार्यालय ल्याइएको बताएका छन्।

‘उहाँलाई पक्राउ गरिएको होइन, छलफलका लागि ल्याइएको हो,’ गिरीले सञ्चारमाध्यमसँग भने।

उनका अनुसार साइबर ब्युरोको कार्यालयमा श्रेष्ठ र पन्त दुवै पक्षबीच छलफल भइरहेको छ। उजुरीकर्ता पन्त पनि ब्युरोमा उपस्थित रहेको उनले जानकारी दिए। यद्यपि, प्रवक्ता गिरीले घटनाबारे थप विवरण दिन चाहेनन्।

समाचार प्रकाशनलाई लिएर उत्पन्न विवादमा प्रहरीले दुवै पक्षलाई छलफलमा सहभागी गराएको जनाएको भए पनि श्रेष्ठलाई घरबाटै प्रहरी टोलीले साथमा ल्याएको घटनाले प्रेस स्वतन्त्रता र प्रहरीको कार्यशैलीबारे प्रश्न उठाएको छ।

यस घटनामा एक पक्षले प्रकाशित समाचारबाट आफ्नो चरित्र हत्या भएको दाबी गरेको छ भने अर्को पक्षले समाचारसँग सम्बन्धित विवादमा सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गालीगलौज तथा आपत्तिजनक सामग्री पोस्ट गरिएको भन्दै उजुरी दिएको छ। दुवै पक्षका आरोपमाथि कानुनी प्रक्रियाअनुसार छानबिन हुन बाँकी छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्