तीन हजारको सामान किन्दा नुवाकोटकी सन्तमायालाई १० लाखको उपहार
काठमाडौँ । नुवाकोटकी सन्तमाया तामाङले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छन्। नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा उनी पुरस्कार विजेता बनेकी हुन्।
आन्तरिक राजस्व विभागका अनुसार तामाङले सामान खरिद गर्दा प्राप्त गरेको बिल नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो। असोज महिनाको दोस्रो पाक्षिक पुरस्कार आइतबार काठमाडौँको न्युरोडस्थित विशालबजार परिसरमा घोषणा गरिएको थियो। पुरस्कार परेको जानकारी कलाकार दीपाश्री निरौला र दीपकराज गिरीले टेलिफोनमार्फत तामाङलाई दिएका थिए।
यस पटक तामाङसहित १७ जना उपभोक्ता पुरस्कारका लागि छनोट भएका छन्। बम्पर पुरस्कारअन्तर्गत तामाङले करकट्टीअघि १० लाख रुपैयाँ पाउनेछिन्। करकट्टीपछि उनको हातमा सात लाख ५० हजार रुपैयाँ पर्ने विभागले जनाएको छ।
त्यस्तै, अन्य १६ जनाले जनही एक लाख रुपैयाँका दरले पुरस्कार जितेका छन्। विभागका अनुसार करकट्टीअघि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिए पनि कर कटाएपछि प्रत्येक विजेताले ६६ हजार ६६६ रुपैयाँ पाउनेछन्।
एक लाख रुपैयाँका दरले पुरस्कार जित्ने बिल नम्बरहरूमा ०८८७९०१३२१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०७९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ रहेका छन्।
करदाता प्रोत्साहन कार्यक्रममार्फत उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने सरकारको उद्देश्य छ। औपचारिक कारोबारलाई बढावा दिँदै कर प्रणालीमा पारदर्शिता कायम गर्न र कर छली नियन्त्रणमा सहयोग पुर्याउने लक्ष्यसहित यस्तो उपहार कार्यक्रम सञ्चालन गरिएको हो।
पुरस्कार घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्