Logo

फ्रान्समा हिंसात्मक प्रदर्शन, १२ सयभन्दा बढी पक्राउ, दर्जनौँ भवनमा आगजनी

ललित सन्देश २०८३ कार्तिक १, ८:५८ AM
फ्रान्समा हिंसात्मक प्रदर्शन, १२ सयभन्दा बढी पक्राउ, दर्जनौँ भवनमा आगजनी

काठमाडौँ । शिक्षा क्षेत्रमा विद्यार्थीले भोग्नुपरेका कठिनाइ र बढ्दो महँगीको विरोधमा फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेपछि १ हजार २०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। शनिबार भएको प्रदर्शनमा करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएको जनाइएको छ।

राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौँ भवन तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ। भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार झडपका क्रममा १५० जना प्रहरी अधिकारी घाइते भएका छन्। फ्रान्सको गृह मन्त्रालयले घटनालाई हिंसामा भएको वृद्धिका रूपमा व्याख्या गर्दै विभिन्न सहरमा अनुहार छोपेका समूहले लक्षित रूपमा हिंसात्मक गतिविधि गरेको जनाएको छ।

लिमोज सहरको नगर भवनमा आगलागी हुँदा भवनको छानो आंशिक रूपमा भत्किएको छ। लियोनमा रहेको पर्यटन कार्यालयमा पनि आगजनी भएको छ। लियोनका मेयर ग्रेगोरी डुसेटले ऐतिहासिक भवनमा भएको आगजनीलाई सहरका लागि दुःखद घटना भनेका छन्। स्थानीय प्रहरीका अनुसार केही समूहले दमकलकर्मीलाई आगो निभाउनसमेत अवरोध गरेका थिए।

पेरिसमा सुरुको मुख्य जुलुस तुलनात्मक रूपमा शान्तिपूर्ण रहे पनि पछि प्रदर्शनकारीका केही समूहले सवारीसाधनमा आगजनी गर्नुका साथै पसलमा तोडफोड र लुटपाट गरेका थिए। कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेको जनाइएको छ। लिल सहरमा एप्पल स्टोरको ढोका फुटाएर सामान लुटिएको छ।

मार्से, रेनेस, टुलुज, एन्जर्स, ग्रिनोबल, एभिन्योन, मोन्टपेलियरलगायत सहरमा पनि हिंसात्मक गतिविधि र भौतिक क्षतिका घटना भएका छन्। सेन्ट–एटिएनमा ग्रेनेड विस्फोटमा परी एक युवकको हात गुमेको स्थानीय मेयरले बताएका छन्।

यद्यपि, प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको बताएका छन्। शिक्षा क्षेत्रका समस्या र जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको आन्दोलनमा हिंसा भड्किएपछि फ्रान्समा सार्वजनिक सुरक्षा र प्रदर्शन व्यवस्थापनलाई लिएर चिन्ता बढेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्