एनपीएलको तेस्रो संस्करणमा नेपाल टेलिकमको साथ, कात्तिक ९ देखि कीर्तिपुरमा प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई व्यावसायिक तथा संस्थागत रूपमा थप बलियो बनाउने उद्देश्यसहित नेपाल टेलिकम प्रतियोगिताको ‘अफिसियल टेलिकम पार्टनर’ बनेको छ। नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टेलिकमबीच यससम्बन्धी सम्झौता भएपछि प्रतियोगितामा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन्।
आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपीएल सिजन–३ सञ्चालन हुँदैछ। प्रतियोगिताको आयोजक क्यान र सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमबीच भएको सहकार्यले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको संस्थागत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्यानका महाप्रबन्धक उत्सव ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गरे। उनका अनुसार एनपीएलसँगको सहकार्य कम्पनीको ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली क्रिकेटलाई संस्थागत रूपमा अगाडि बढाउन र संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्नसमेत उपयोगी हुनेछ।
क्यानका महाप्रबन्धक ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु नेपाली क्रिकेटका लागि सकारात्मक भएको बताए। यसले क्रिकेटको विकाससँगै खेलाडीको जीवनस्तर सुधारमा समेत योगदान पुर्याउने उनको अपेक्षा छ।
नेपाली खेलकुदको संवर्द्धन र प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहकार्यले थप टेवा पुर्याउने नेपाल टेलिकमले जनाएको छ। साथै, एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट हालै मान्यता पाएकोमा टेलिकमले क्यानलाई बधाई दिएको छ।
एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा टेलिकमजस्ता संस्थाको साझेदारीले प्रतियोगिताको व्यावसायिक विस्तार, नेपाली क्रिकेटको पहिचान र खेलकुदमा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यलाई थप महत्त्व दिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्