Logo

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

ललित सन्देश २०८३ कार्तिक १, ४:५० AM
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त जिम्मेवारी दिइएको हो। नियुक्तिसँगै उनले पाँच वर्षसम्म कोषको नेतृत्व गर्नेछिन्। लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।

सन् १९७० मा काठमाडौँमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मगुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र, धार्मिक साधना तथा संगीतको अध्ययन गरेकी हुन्।

बौद्ध मन्त्र र भजनलाई आधुनिक संगीतसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएकी उनी ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा परिचित छन्। उनको गायनले बौद्ध दर्शन, आध्यात्मिकता र नेपाली धार्मिक संगीतलाई अन्तर्राष्ट्रिय श्रोतामाझ चिनाउन योगदान पुर्‍याएको छ।

लुम्बिनी विकास कोषको उपाध्यक्षका रूपमा उनको नियुक्तिसँगै बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण, विकास, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका क्षेत्रमा उनले कस्तो नेतृत्व प्रदान गर्छिन् भन्ने चासो बढेको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्