Logo

महाअष्टमीमा शक्तिपीठहरूमा विशेष पूजाआजा, भक्तजनको घुइँचो

ललित सन्देश २०८३ कार्तिक १, ५:१८ AM
महाअष्टमीमा शक्तिपीठहरूमा विशेष पूजाआजा, भक्तजनको घुइँचो

काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिने यस दिन दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा धार्मिक विधिअनुसार पूजा र पशुबलि दिने परम्परा छ।

वैदिक सनातन परम्परामा महाअष्टमीलाई देवी शक्तिको आराधना र आसुरी प्रवृत्तिको नाशसँग जोडेर हेरिन्छ। यस दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ। जल, चन्दन र अक्षतासहित षोडशोपचार विधिबाट गरिने पूजा सात्त्विक, पशुबलिसहितको पूजा राजस र मदिरासमेत अर्पण गरिने पूजा तामस परम्पराअन्तर्गत पर्ने उनको भनाइ छ। उनले दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत पशुबलिसम्बन्धी चर्चा रहेकाले यसलाई शास्त्रीय परम्पराभित्रै राखेर बुझ्नुपर्ने बताए। उनका अनुसार ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको धार्मिक विधान छ।

महाअष्टमीका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई र बगलामुखीलगायत शक्तिपीठमा भक्तजनले पूजाआजा गर्ने गरेका छन्। उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती र ताप्लेजुङको पाथीभरा लगायतका धार्मिक स्थलमा पनि विशेष पूजा गरिन्छ।

यस दिन धार्मिक परम्पराअनुसार कलपुर्जा, हातहतियार र यातायातका साधन सफा गरी देवीको प्रतीकका रूपमा स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने चलन छ। देवीका शस्त्रअस्त्रसँगै चतुरङ्गिणी सेनाको आह्वान गरी आराधना गर्ने परम्परा पनि महाअष्टमीसँग जोडिएको छ। पशुबलि नदिने परिवारले आफ्नो कुलपरम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला वा नरिवल अर्पण गरेर प्रतीकात्मक बलि दिने गर्छन्।

महाअष्टमीको रातलाई कालरात्रिका रूपमा विशेष पूजा गर्ने परम्परा छ। हनुमानढोका दरबारस्थित दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने परम्परा रहेको छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसलाई महाअष्टमीको महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइन्छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्