सप्तकोशीमा मोटर बोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता
काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटर बोट दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बोटमा करिब १६ जना सवार रहेको अनुमान गरिएको छ।
दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नं. १ बाहिनीबाट पाँच गोताखोरसहित नौ जना, सुरक्षा वेश रामपुरबाट छ जना र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली घटनास्थलमा खटिएको छ।
उद्धार टोलीले बेपत्ताको खोजी तथा घटनामा परेकाको उद्धार कार्य अघि बढाएको छ। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।


टिप्पणी लेख्नुहोस्