माघ ५ देखि आहा रारा पोखरा गोल्डकप, २६औँ संस्करणको तयारी सुरु
पोखरा । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ। आयोजक सहारा क्लब पोखराका अनुसार प्रतियोगिता माघ १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ।
विसं २०५८ देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ। राजधानीबाहिर लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएका फुटबल प्रतियोगितामध्ये आहा रारा गोल्डकप एक हो।
सहारा क्लबले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ। प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण भने पछि सार्वजनिक गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित आयोजना हुँदै आएको प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।
पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन्।
प्रतियोगिताबाट प्राप्त बचत रकम सहारा क्लबले फुटबलको आधार निर्माणमा लगानी गर्दै आएको छ। क्लबले पोखरा–१७ दोविल्लास्थित एकेडेमीमार्फत बालबालिकालाई आवाससहित शिक्षा र फुटबल प्रशिक्षण प्रदान गरिरहेको छ। हाल एकेडेमीमा देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकले शिक्षा र प्रशिक्षण लिइरहेका छन्।
प्रतियोगिताको नयाँ संस्करणले नेपाली फुटबलमा प्रतिस्पर्धात्मक वातावरण विकास गर्नुका साथै पोखरामा खेलकुदप्रेमी र पर्यटकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।


टिप्पणी लेख्नुहोस्