Logo

देउवा पक्षको जिल्ला अधिवेशन तीव्र, मंसिर २१ देखि केन्द्रीय महाधिवेशन गर्ने तयारी

ललित सन्देश २०८३ कार्तिक ९, २:५७ AM
देउवा पक्षको जिल्ला अधिवेशन तीव्र, मंसिर २१ देखि केन्द्रीय महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको देउवा पक्षले जिल्ला अधिवेशनहरू धमाधम गरिरहेको छ।

देउवा पक्षको निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७४३ वडामध्ये ६ हजार १०० वटामा अधिवेशन सम्पन्न भएको छ। १४३ वडामा अधिवेशन हुन बाँकी रहेको समितिले जनाएको छ। त्यस्तै, ७५३ पालिकामध्ये ४९७ वटामा अधिवेशन सकिएको छ भने २५६ वटामा बाँकी छ।

देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११६ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा नेतृत्व चयन भइसकेको महाधिवेशन तयारी समितिका सचिवालय समन्वय प्रमुख दीपकप्रसाद कुइँकेलले बताएका छन्।

उनका अनुसार दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते अधिवेशन गर्ने तयारी छ। जिल्ला अधिवेशन नहुँदासम्म वडा, पालिका र क्षेत्रीय अधिवेशन जारी रहने निर्वाचन समितिका संयोजक एकराज पोखरेलले बताए।

देउवा पक्षले प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ। अधिकांश स्थानमा कार्यसमिति सर्वसम्मत चयन गर्ने प्रयास भए पनि महाधिवेशन प्रतिनिधि छनोटमा विभिन्न ठाउँमा निर्वाचन भएको समितिले जनाएको छ।

देउवा पक्षले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ। १६५ निर्वाचन क्षेत्रबाट मात्रै ५ हजार ७७५ प्रतिनिधि आउने र पदेन प्रतिनिधिसमेत जोड्दा महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या करिब सात हजार पुग्ने पोखरेलले बताएका छन्।

यसैबीच, कांग्रेस संस्थापन पक्षले असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिसकेको छ। संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो। दुवै पक्षले आ–आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएसँगै कांग्रेसको आधिकारिकता विवाद थप पेचिलो बनेको छ।

DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्