Logo

टिकाभैरवको ढुंगामा सांसद र मेयरको आँखा, एक महिना सडक थुनिँदा जनतालाई सास्ती

ललित सन्देश २०८३ कार्तिक ८, १:४५ PM
टिकाभैरवको ढुंगामा सांसद र मेयरको आँखा, एक महिना सडक थुनिँदा जनतालाई सास्ती

ललितपुर । चापागाउँबाट टिकाभैरव जाने सडकमा पहिरो खसेको करिब एक महिना बितिसक्दा पनि सडक सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासी तथा यस नाका हुँदै राजधानी काठमाडौं उपत्यका ओहोरदोहोर गर्ने कान्ति राजपथका यात्रुले सास्ती खेपिरहेका छन्। पहिरो हटाएर सडक खुलाउनेभन्दा पहिरोमा थुप्रिएका ढुंगा र माटोको व्यवस्थापनलाई लिएर ललितपुर क्षेत्र नं १ का सांसद बुद्धत्न महर्जन र गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन सहित नगरपालिकाका जनप्रतिनिधिबीच सिर्जना भएको दृश्य अदृश्य कलहका कारण सडक अवरुद्ध भएको भन्दै स्थानीय हरुले सामाजिक सञ्जालमा दुबै पक्षका जनप्रतिनिधिको आलोचना गरेका छन् । १० असोजमा गएको पहिरोका कारण २ सय ट्रीपभन्दा बढी ढुंगाले सडक थुनेपछि उक्त ढुंगाका कारण विवाद सुरु भएको बताइन्छ ।

सडकबाट ढुंगा–माटो हटाउने क्रममा त्यसको व्यवस्थापन र बिक्रीसँग जोडिएको विषयमा विवाद उत्पन्न भएको स्थानीय जनप्रतिनिधिहरूको आरोप छ। केही जनप्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनको भूमिकामाथि प्रश्न उठाएका छन्। यद्यपि, यस सांसद महर्जनले भने आफ्नो कारण सहजीकरण भएको बताएका छन् । आफ्नो पहलमा भएको छलफलले उक्त सडक सरसफाई गरी प्राप्त भएको ढुंगा माटो विक्री गरी सरकारी खातामा रकम जम्मा गर्ने सहमति भएको बताउँछन् ।

सडक खुलाउन ढिलाइ भइरहेका बेला बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले टाहाखेल–टिकाभैरव सडकको पहिरो हटाउने जिम्मेवारी गोदावरी नगरपालिकालाई दिएको हो । लामो समयसम्म पनि सांसद महर्जनको पहलमा जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार सडक खुल्ने छाँटकाँट नभएका कारण प्रदेशले हस्तक्षेप गरेर नगरपालिकालाई जिम्मा दिएको हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ढुंगा र माटोको सुरक्षित व्यवस्थापन गर्दै सडक खुलाउने काम अघि बढाउन निर्देशन दिएको र एक साताभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको बताएका थिए । महर्जनले उक्त प्रतिबद्धता जनाएको पनि २ साता वितिसक्दा पनि सडक खुल्ने सुरसार छैन ।

सडक माथि ठूलो ढुंगा र माटोको थुप्रो रहेकाले त्यसलाई सुरक्षित रूपमा हटाउनुपर्ने चुनौती पनि छ। तर सुरक्षा व्यवस्थापनको आवश्यकता देखाएर सडक खुलाउने काम अनिश्चितकालसम्म लम्ब्याउन मिल्दैन। ढुंगा हटाउने क्रममा त्यसको उपयोग, बिक्री वा व्यवस्थापनसम्बन्धी कुनै निर्णय गर्नुपर्ने भए पनि त्यसको प्रक्रिया पारदर्शी हुनुपर्छभन्दै सुरु भएको विवादलाई नगरपालिकाले स्रोत व्यवस्थापनको कोणबाट टुंग्याए पनि सुरक्षा व्यवस्थापन सहित टुंग्याएर बाटो खुलाउन नसक्दा आलोचना बढेको छ ।

https://lalitsandesh.com/uploa...

DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्