Logo

हिमपात र हिमपहिरोको जोखिमः तीन दिन हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह

ललित सन्देश २०८३ कार्तिक १०, ११:०८ AM
हिमपात र हिमपहिरोको जोखिमः तीन दिन हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनीपछि अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न तथा नयाँ अनुमति जारी नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विभागले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत यही कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न पर्यटक तथा पदयात्रीलाई अनुरोध गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहने भएकाले यस्तो आग्रह गरिएको विभागले जनाएको छ।

विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्राको अनुमति लिइसकेका पदयात्रीलाई समेत सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्न अनुरोध गरेको छ। पदयात्रामा गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन पनि विभागले आग्रह गरेको छ।

त्यस्तै, उक्त अवधिका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जाने पदयात्राको अनुमति मंगलबारदेखि नै जारी नगर्न तथा नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराइएको छ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्री तथा पदयात्रासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई सूचनाको पालना गर्न र गराउनसमेत अनुरोध गरेको छ।

मौसमजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै जारी गरिएको सूचनाले जोखिमयुक्त क्षेत्रमा पर्यटकको आवागमन रोक्न तथा पदयात्रामा रहेका पर्यटकको सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्