संस्कृति विपरीत भन्दै ग्राहकको माग अस्वीकार गरेपछि सेफको जागिर गयो
ब्रिसबेन (अस्ट्रेलिया) — अस्ट्रेलियाको रोजगारसम्बन्धी अदालत 'फेयर वर्क कमिसन' ले संस्थागत नियम र ग्राहकको माग उल्लङ्घन गरेको आरोपमा जागिरबाट निकालिएका इटालेली सेफको अनुचित निष्कासनसम्बन्धी पुनरावेदन याचिका खारेज गरिदिएको छ। ब्रिसबेनस्थित 'ला कोस्टा' रेस्टुरेन्टका सेफ डेभिड ताम्बुरेलाले पिज्जामा भुइँकटर राख्न अस्वीकार गरेपछि व्यवस्थापनले उनलाई सेवाबाट हटाएको थियो।
रेस्टुरेन्टका प्रबन्ध निर्देशक एलियट इनग्रामले ग्राहकको सन्तुष्टि र सेवा पहिलो प्राथमिकता हुने भन्दै कार्यस्थलको अनुशासन उल्लङ्घन भएकाले कारबाही गरिएको बताएका छन्। निष्कासनविरुद्ध सेफ ताम्बुरेलाले अदालतमा मुद्दा दायर गरे पनि तोकिएको कानुनी समयसीमा नाघेर आवेदन परेकाले अदालतले उनको माग खारेज गरिदिएको हो। उक्त रेस्टुरेन्ट बन्द भइसकेपछि हाल ताम्बुरेला ब्रिसबेनकै अर्को भोजनालयमा मुख्य सेफका रूपमा कार्यरत छन्, जहाँको मेनुमा भुइँकटर समावेश गरिएको छैन।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्