Logo

जर्मन सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने सर्वेक्षणको खुलासा: ३८ प्रतिशत महिला सैनिक प्रभावित

ललित सन्देश २०८३ कार्तिक २६, ११:१० AM
जर्मन सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने सर्वेक्षणको खुलासा: ३८ प्रतिशत महिला सैनिक प्रभावित

बर्लिन — जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ मा कार्यरत सैनिकहरूमाझ गरिएको एक बृहत् सर्वेक्षणले सेनाभित्र व्यापक रूपमा यौन दुर्व्यवहार हुने गरेको तथ्य बाहिर ल्याएको छ। जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सेनाभित्र हुने यस्ता दुर्व्यवहारबाट विशेषगरी महिला सैनिकहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन्।

सैनिक जनशक्ति कुल १ लाख ८६ हजार २ सयमध्ये करिब चार प्रतिशत अर्थात् आठ हजार महिला तथा पुरुष सैनिकसँग प्रश्नावली भराएर गरिएको यो बुन्डेसवेरको पहिलो औपचारिक अध्ययन हो। सर्वेक्षणको नतिजाअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुर्व्यवहारको निशानामा पर्ने गरेका छन्। यस्तै, पुरुष सैनिकहरूमध्ये विपरीत लिङ्गीप्रति आकर्षित नहुनेहरू बढी दुर्व्यवहारको सिकार भएको पाइएको छ भने सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन्।

रक्षामन्त्री पिस्टोरियसले सेनाभित्र यौन दुर्व्यवहारप्रति ‘शून्य सहनशीलता’ को नीति लागू हुने स्पष्ट पार्दै पीडितलाई सहयोग, रोकथामका उपाय तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना प्रस्तुत गर्नुभएको छ। यता, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले भने यस्ता घटनाबारे सहज रूपमा उजुरी दिन र निष्पक्ष छानबिनका लागि स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग राख्नुभएको छ।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्