Logo

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

ललित सन्देश २०८३ मंसिर १०, ६:५८ AM
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरिएको भनिएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले अर्याललाई नियन्त्रणमा लिएको हो।

प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। पक्राउको स्थानबारे प्रहरीले औपचारिक जानकारी नदिए पनि गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

अर्यालविरुद्ध मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने प्रणालीलाई निरन्तरता दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा भएका निर्णयमाथि केन्द्रित रहेर अनुसन्धान अघि बढाइएको हो।

श्रम मन्त्रालयको सचिवबाट मुख्यसचिव बनेका अर्याल २०८१ भदौमा नेपालको प्रशासनिक नेतृत्वमा पुगेका थिए। त्यसअघि उनले गृहसचिवको जिम्मेवारीसमेत सम्हालेका थिए। मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए।

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा विभिन्न शीर्षकमा अतिरिक्त रकम असुली गर्ने व्यवस्था कायम राख्न सरकारी अधिकारीहरूले भूमिका खेलेको आरोपमा अहिले अनुसन्धान भइरहेको छ। यस प्रकरणमा करिब सात लाख नेपाली श्रमिक प्रभावित भएको आशंका गरिएको छ।

प्रकरणको अनुसन्धान उच्च प्रशासनिक तहसम्म पुगेपछि पूर्वमन्त्रीदेखि सचिव तथा अन्य सरकारी अधिकारीहरूसमेत अनुसन्धानको दायरामा तानिएका छन्। अर्यालको पक्राउसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने आर्थिक शोषणमा सरकारी निर्णयकर्ता र प्रशासनिक नेतृत्वको भूमिकाबारे थप प्रश्न उठेका छन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्