वातावरणमैत्री फोहोरमैला संकलन केन्द्र उद्घाटन, ४५ जनाद्धारा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण
भक्तपुर । वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनमा क्रियाशील नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) ले वातावरणमैत्री फोहोरमैला संकलन केन्द्र उद्घाटन गरिएको छ । नेप्सेम्याकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नेप्सेम्याकको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा भक्तपुरको राधेराधेस्थित संस्थाको शाखा कार्यालयमा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा १२ महिला र ३३ पुरुष रहेका छन् ।
त्यसैगरी, ७३ जनाले नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षणका क्रममा चार जनालाई मनोपरामर्श आवश्यक देखिएको र अन्यमा परीक्षण गरिएका विषयमा समस्या नदेखिएको कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले जानकारी दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीका दाहालले संस्थाको कार्यक्षेत्र फोहोरमैला संकलन तथा व्यवस्थापनमा मात्र सीमित नरहेको बताए । वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्य र रोगको रोकथामलाई पनि संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको उनको भनाइ थियो । संस्थाका शाखाहरूले नियमित रूपमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै दाहालले भक्तपुर शाखाले यस क्षेत्रमा उदाहरणीय काम गरिरहेको बताए ।
नेप्सेम्याकका निर्देशक बाबुराम चौलागाईंले संस्थालाई फोहोर व्यवस्थापन गर्ने निकायका रूपमा मात्र नभई वातावरण संरक्षण, बहाल स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक सेवासँग जोडिएको अभियानका रूपमा विकास गर्न खोजिएको बताए ।
कार्यक्रम संयोजक आचार्यले समाजको विश्वास र कर्मचारीको समर्पण नै संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै वातावरण सफा राख्न सक्रिय कर्मचारी तथा सेवामा समर्पित जनशक्तिको स्वास्थ्य र मनोबललाई पनि संस्थाले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर तथा दुवाकोट शाखा, स्वच्छ वातावरण समाज केन्द्र, आरपी रिसाइकल संकलन तथा व्यवस्थापन र अरुण अटोमोबाइल्स प्रालिको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
वातावरणीय स्वच्छता र जनस्वास्थ्यलाई एकअर्कासँग जोडेर अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रमले रक्तदान संस्कृतिको प्रवद्र्धन तथा नसर्ने रोगप्रति जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्