Logo

निजी क्षेत्रलाई श्रम विभागको ताकेता-'श्रमिक र शिक्षकलाई अनिवार्य चाडपर्व खर्च दिनू'

ललित सन्देश २०८३ आश्विन २६, १०:०३ AM
निजी क्षेत्रलाई श्रम विभागको ताकेता-'श्रमिक र शिक्षकलाई अनिवार्य चाडपर्व खर्च दिनू'

काठमाडौं । सरकारले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा संस्थागत विद्यालयहरूमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्र र निजी विद्यालयका छाता सङ्गठनहरूलाई औपचारिक पत्र पठाउँदै कानुनबमोजिमको चाडपर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो।

श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले वर्षमा एक पटक आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने स्पष्ट कानुनी व्यवस्था छ। सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको छ ।

त्यस्तै, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न विभागले प्याब्सन र एन-प्याब्सनलाई समेत छुट्टै पत्र पठाएको छ। चाडपर्वको समयमा पनि धेरैजसो रोजगारदाताले श्रमिकलाई तोकिएको सेवा–सुविधा दिन आलटाल गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो । कानुनले तोकेको सुविधा उपलब्ध नगराए सम्बन्धित रोजगारदाताविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत विभागले दिएको छ ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्