१० महिनामा झण्डै एक लाखले घट्यो सुनको मूल्य, अझै ओरालो लाग्ने संकेत
काठमाडौँ । दशैं र तिहारलगायतका चाडपर्व सकिएसँगै विवाहको मौसम सुरु भएको छ। मंसिर लागेसँगै सुनचाँदीका गरगहना किन्ने उपभोक्ताको चहलपहल बढेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटका बाबजुद नेपाली बजारमा उपभोक्ताले चाहेजति सुन सहजै पाउन सकेका छैनन्। मूल्य घटेको समयमा माग बढ्नु र बजारमा नयाँ सुनको आपूर्ति सीमित हुनुका कारण यस्तो अवस्था देखिएको व्यवसायीहरू बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। गत माघ १५ गते प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य १० महिनामै ९७ हजार नौ सय रुपैयाँले घटेको हो। नेपाली बजारमा कायम भएको हालसम्मकै उच्च मूल्यबाट सुनमा आएको यो गिरावटले उपभोक्ता, व्यवसायी र लगानीकर्तालाई प्रभावित बनाएको छ।
सुनको मूल्यमा आएको गिरावटको प्रमुख कारण अन्तर्राष्ट्रिय वित्तीय बजारमा देखिएको परिवर्तन हो। सन् २०२५ मा ५३ पटक नयाँ रेकर्ड बनाएको सुनको मूल्य सन् २०२६ जनवरीमा प्रतिऔंस पाँच हजार ५८९ अमेरिकी डलरभन्दा माथि पुगेको थियो। तर, पछिल्लो समय घट्दै बुधबार प्रतिऔंस तीन हजार पाँच सय डलरको हाराहारीमा झरेको छ।
सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउनु प्रमुख कारण मानिएको छ। बैंक तथा बन्डमा लगानी गर्दा तुलनात्मक रूपमा राम्रो प्रतिफल प्राप्त हुने भएपछि लगानीकर्ताले सुनबाट पैसा झिकेर अन्य क्षेत्रमा लगानी गर्न थालेका छन्। अमेरिकी डलर बलियो हुनु र भारतीय मुद्रा केही मजबुत बन्नुले पनि नेपाली बजारमा सुनको मूल्य घटाउन भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ।
त्यस्तै, अमेरिका, चीन र रूसका राष्ट्रप्रमुखबीच भएको शान्ति घोषणापछि अन्तर्राष्ट्रिय द्वन्द्व कम हुन सक्ने अपेक्षाले सुरक्षित लगानीका रूपमा सुनप्रतिको आकर्षण कमजोर बनाएको छ। रूस–युक्रेन तथा इजरायल–इरान तनाव मत्थर हुने सम्भावना, अमेरिकी प्रविधि तथा एआई कम्पनीका सेयरमा आएको गिरावट र लगानीकर्ताले घाटा पूर्ति गर्न बहुमूल्य धातु बिक्री गर्नु पनि मूल्य घट्नुका कारण मानिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार ब्याजदर, डलरको मजबुती र अन्तर्राष्ट्रिय लगानीको प्रवृत्तिमा आएको परिवर्तनले सुनको बजार प्रभावित भएको हो।
अझै घट्न सक्ने प्रक्षेपण
विश्व सुन परिषद्ले आगामी दिनमा सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय डलर हुँदै दुई हजार पाँच सय डलरसम्म झर्न सक्ने आकलन गरेको छ। यस्तो अवस्था आए नेपाली बजारमा पनि सुनको मूल्य थप घट्नेछ। व्यवसायीहरूको अनुमानअनुसार डलरको विनिमयदर स्थिर रहे प्रतितोला एक लाख ४० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पुग्न सक्ने सम्भावना छ। तर, यो सम्भावित प्रक्षेपण मात्र हो।
अर्कोतर्फ, भारत र चीनमा मूल्य घटेपछि सुनको माग बढ्न थालेको छ। भारतमा विवाहको मौसम सुरु भएकाले गरगहनाको माग थप बढेको छ।
नेपाली बजारमा भने मूल्य घटेपछि पुरानो सुन बिक्री गर्न आउने उपभोक्ताको संख्या घटेको र दशैं–तिहारमा बैंकमा रहेको सुनको मौज्दातसमेत बिक्री भइसकेको व्यवसायीहरू बताउँछन्। वाणिज्य बैंकहरूले बैंकर्स एसोसिएसनको व्यवस्थाअनुसार दैनिक २५ किलोसम्म सुन बजारमा उपलब्ध गराउने व्यवस्था भए पनि पछिल्लो समय आपूर्तिमा समस्या देखिएको छ।
बज्राचार्यका अनुसार महासंघले बैंकर्स एसोसिएसनसँग कोटाअनुसार सुन उपलब्ध गराउन आग्रह गरिसकेको छ। केही दिनभित्र आपूर्ति सहज हुने उनको अपेक्षा छ। व्यवसायीहरूका अनुसार अहिले बजारमा गहनाको अभावभन्दा पनि उपभोक्ताले चाहेको डिजाइनअनुसार नयाँ गहना बनाउन आवश्यक सुनको उपलब्धतामा समस्या देखिएको हो।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्