एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते काठमाडौंमा
काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकालले केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा भेलाको मिति सार्वजनिक गरेका हुन् ।
एमालेभित्र पार्टीको संगठनात्मक अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक कार्यदिशालाई लिएर बहस भइरहेका बेला राष्ट्रिय कार्यकर्ता भेला हुन लागेको हो । भेलालाई पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताबीचको संवाद र समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने अवसरका रूपमा हेरिएको छ ।
एमालेको हालै बसेको स्थायी कमिटी बैठकले तल्लो तहका भेला तथा अधिवेशनपछि राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो। पार्टी सचिव महेश बस्नेतका अनुसार भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएर वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा आएपछि हुन लागेको यो भेला पार्टीको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक रणनीतिबारे भेलामा छलफल हुन सक्नेछ। यद्यपि यी विषयलाई औपचारिक कार्यसूचीका रूपमा पुष्टि गरिएको छैन।
एमालेले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने कार्यतालिकासमेत बनाएको छ। त्यसपछि प्रदेशस्तरीय भेला गर्ने तयारी छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्