दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले प्रहरी संगठनको नेतृत्व र शान्ति सुरक्षासँग जोडिएको विषय भएकाले मुद्दाको अन्तिम सुनुवाइ छिटो गर्न भने आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम तत्काल पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
इजलासले निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्नहरू रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा निरुपण गर्न उपयुक्त हुने ठहर गरेको छ। त्यसैले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ।
आदेशमा मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा बढुवा तथा नियुक्त भई कार्यभार सम्हालिसकेको अवस्थालाई समेत उल्लेख गरिएको छ।
यद्यपि, सर्वोच्चले यस मुद्दालाई सामान्य प्रक्रियाअनुसार लामो समयसम्म लम्ब्याउन नहुने स्पष्ट पारेको छ। राज्यको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसको शीघ्र निरुपण आवश्यक रहेको इजलासको ठहर छ।
सर्वोच्चको आदेशमा विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै अन्तिम सुनुवाइका लागि पेसीमा चढाउन भनिएको छ। साथै, पेसी स्थगित गर्न नपाइने गरी दुवै पक्षलाई पूर्वसूचना दिनसमेत आदेश गरिएको छ।
यसअघि कात्तिक २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि विपक्षीहरूलाई झिकाउने आदेश दिएको थियो। उक्त इजलासले विपक्षीहरूलाई म्याद प्राप्त भएको १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।
रिटमा विपक्षी बनाइएका सबै पक्षले अदालतको म्याद बुझिसकेका छन्। अब उनीहरूको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालत प्रशासनले अन्तिम सुनुवाइका लागि पेसी तोक्नेछ।
सर्वोच्चको पछिल्लो आदेशले कार्कीको पुनर्बहालीसम्बन्धी मागमा तत्काल राहत नदिए पनि उनको नियुक्ति तथा पदमुक्तिसम्बन्धी कानुनी विवादको अन्तिम निरुपण भने बाँकी नै राखेको छ। त्यसैले अब मुद्दाको अन्तिम सुनुवाइबाट आउने निर्णयले प्रहरी संगठनको नेतृत्व परिवर्तनसम्बन्धी विवादको कानुनी टुंगो लगाउनेछ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्