Logo

कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

ललित सन्देश २०८३ आश्विन २६, ४:१८ PM
कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

नेपाली कांग्रेसको आठ दशक लामो इतिहासमा डा. डिला संग्रौला (पन्त) पहिलो महिला महामन्त्री बनेकी छन्। पार्टीको १५औँ महाधिवेशनबाट विधान संशोधन गरी सिर्जना गरिएको महिला महामन्त्री पदमा उनी तीन हजार ११८ मतसहित निर्वाचित भएकी हुन्।

महामन्त्री पदकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन्। संग्रौलाले उपाध्यायलाई २५४ मतान्तरले पराजित गरेकी हुन्।

२०२० सालमा दाङमा जन्मिएकी संग्रौलाको राजनीतिक यात्रा किशोरावस्थामै सुरु भएको थियो। १६ वर्षको उमेरमा नेपाल विद्यार्थी संघमा आबद्ध भएकी उनी पञ्चायतविरोधी अभियानमा सक्रिय भइन्। २०३६ सालको जनमतसंग्रहका क्रममा विद्यार्थी राजनीतिमा सक्रिय रहेकी उनी २०३८ सालमा घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य बनिन्।

२०४० सालमा मोरङका सूर्य संग्रौलासँग विवाह भएपछि उनले मोरङलाई आफ्नो राजनीतिक कार्यक्षेत्र बनाइन्। विराटनगर महानगरपालिका–११ को कांग्रेस वडा सभापतिको जिम्मेवारी सम्हालेकी उनले राजनीतिसँगै प्राध्यापन पेसालाई पनि निरन्तरता दिइन्।

२०५९ सालमा शेरबहादुर देउवाले कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा संग्रौला त्यही समूहमा आबद्ध भइन्। २०७४ सालमा दुवै पार्टीबीच एकता भएपछि उनी कांग्रेस मोरङको जिल्ला उपसभापति बनिन्। त्यसपछि प्राध्यापन छाडेर पूर्णकालीन राजनीतिमा सक्रिय भइन्।

२०६७ सालको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी संग्रौला २०६८ सालमा नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनीत भइन्। २०७२ सालको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भइन्।

२०७८ सालको १४औँ महाधिवेशनमा महिलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएकी संग्रौला गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्। सहमहामन्त्री बनेको करिब १० महिनामै महामन्त्री पदमा पुग्न सफल उनले पार्टीको नेतृत्व तहमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।

महामन्त्री निर्वाचित भएपछि संग्रौलाले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै युवा पुस्ताको अपेक्षाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आफ्नो जितलाई व्यक्तिगत उपलब्धिभन्दा समग्र महिला र संगठनमा योगदान गर्ने कार्यकर्ताको गौरवका रूपमा व्याख्या गरेकी छन्।

संग्रौलाले पार्टीमा पुस्तान्तरण, संगठनात्मक सुधार र सुशासनलाई प्राथमिकता दिने बताएकी छन्। उनका अनुसार बदलिँदो राजनीतिक परिस्थिति र युवा पुस्ताको चाहनालाई सम्बोधन गर्न कांग्रेसले पुरानै कार्यशैली परिवर्तन गर्न आवश्यक छ।

कांग्रेसको पहिलो महिला महामन्त्रीका रूपमा उनको निर्वाचनले पार्टीको नेतृत्वमा महिला सहभागिताको नयाँ अध्याय सुरु गरेको छ। अब संगठनको रूपान्तरण, महिला सहभागिता विस्तार र युवा पुस्तालाई पार्टीसँग जोड्ने विषयमा उनले कस्तो भूमिका निर्वाह गर्छिन् भन्ने चासो बढेको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्