Logo

विवादास्पद अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनार आलोचनामा

ललित सन्देश २०८३ आश्विन २६, ४:५६ PM
विवादास्पद अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनार आलोचनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक विवादास्पद अडियो सार्वजनिक भएपछि आलोचनामा परेका छन्। सोमबार जनआस्था साप्ताहिकले सुनारको भएको दाबीसहित सार्वजनिक गरेको अडियोमा एक महिला पूर्वसांसदप्रति आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिन्छ।

केही वर्षअघि रेकर्ड गरिएको बताइएको उक्त अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न प्रतिक्रिया देखिएका छन्। घटनापछि सांसद सुनारको अभिव्यक्तिको आलोचना गर्दै उनको राजीनामा र कानुनी कारबाहीको मागसमेत उठ्न थालेको छ।

विवाद सार्वजनिक भएपछि सुनारसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन बन्द रहेको पाइएको छ। यस विषयमा पार्टीको धारणा बुझ्न खोज्दा रास्वपा प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आफू काठमाडौं बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको बताउँदै उनले बुझेर मात्रै धारणा राख्न सक्ने बताएका छन्।

सांसद सुनार यसअघि पनि प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्ति प्रकरणमा नाम जोडिएको विषय तथा गाईसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका थिए।

नयाँ विवादसँगै सांसदको सार्वजनिक आचरण, अभिव्यक्तिको मर्यादा र राजनीतिक जवाफदेहिताबारे प्रश्न उठेका छन्। अब रास्वपाले घटनाबारे छानबिन गरी कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्