राजदूतमा प्रस्तावित सुनारलाई नाम फिर्ता लिन सांसदहरूको सुझाव
काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारलाई संसदीय सुनुवाइ विशेष समितिका सांसदहरूले आफ्नो नाम फिर्ता लिन सुझाव दिएका छन्। बुधबारको बैठकमा सांसदहरूले उनीविरुद्ध परेका उजुरीमा गम्भीर प्रश्न उठाउँदै उच्च नैतिक चरित्रको मापदण्ड पूरा नगरेको अवस्थामा राजदूत नियुक्तिका लागि सिफारिस गर्न नसकिने धारणा राखेका हुन्।
नेकपाका सांसद वर्षमान पुनले सुनारविरुद्धका उजुरी गम्भीर रहेको उल्लेख गर्दै अयोग्य घोषित हुनुभन्दा आफैं नाम फिर्ता लिनु उपयुक्त हुने बताए। उनले महिला हिंसा, परिवारका सदस्यलाई दुर्व्यवहार गरेको तथा गलत आर्थिक गतिविधिमा संलग्न रहेको आरोपबारे प्रश्न उठाए।
एमाले सांसद पद्मा अर्यालले पनि राजदूत नियुक्तिका लागि उच्च नैतिक चरित्र आवश्यक हुने भन्दै सुनारमाथि उठेका आरोपको जवाफ मागिन्। उनले विवादित व्यक्तिलाई विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठाइन्।
सांसद प्रेम दंगालले सुनार जर्मनीबाट निष्कासित भएको विषय र महिलामाथि हिंसासम्बन्धी उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने बताए। रास्वपाका सांसद मधुकुमार चौलागाईंले घरेलु हिंसासम्बन्धी मिलापत्र, आर्थिक लेनदेन र विभिन्न व्यक्तिलाई पद दिलाउने प्रलोभनमा रकम असुलेको आरोपबारे स्पष्टीकरण मागे। सांसद गजला समीम मिकरानीले पनि नाम फिर्ता लिन सुझाव दिइन्।
सांसदहरूले उठाएका आरोपको जवाफ दिँदै सुनारले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरे।
सुनारविरुद्धका आरोप र उजुरीबारे समितिले उपलब्ध प्रमाणको परीक्षण गरी निर्णय गर्नुपर्नेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढ्न सक्छ।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्