Logo

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले टुंग्याए खेल जीवन

ललित सन्देश २०८३ आश्विन ३१, ८:०३ AM
राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले टुंग्याए खेल जीवन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले आफ्नो फुटबल करियर अन्त्य गर्ने घोषणा गरेका छन्। २८ वर्षीय विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फुटबल यात्रा यहीँ टुंग्याएको जानकारी दिएका हुन्।

बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको स्मरण गर्दै विमलले यसलाई लामो र कठिन यात्राका रूपमा वर्णन गरेका छन्। देशका लागि खेल्दा आफूले सधैँ मनदेखि खेलेको र आफ्नो सम्पूर्ण समय तथा ऊर्जा फुटबलमा समर्पित गरेको उनले बताएका छन्।

‘मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ,’ उनले फेसबुकमा लेखेका छन्।

आफ्नो खेल जीवनमा समर्थकबाट पाएको माया र साथलाई विमलले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। फुटबलप्रेमीको समर्थनकै कारण आफूले यो यात्रा तय गर्न सकेको उल्लेख गर्दै उनले खेल जीवन अन्त्य गर्ने निर्णय लिँदा भावुक भएको बताएका छन्।

‘मलाई र फुटबललाई माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकले जुन माया र साथ दिनुभयो, त्यो सबै फुटबलकै कारण सम्भव भएको हो। आज यो निर्णय लिँदा म निकै भावुक भएको छु,’ उनले लेखेका छन्।

उनले आफ्नो फुटबल यात्रामा सहयोग गर्ने प्रशिक्षक, सहकर्मी, समर्थक तथा सबै शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।

नेपाली फुटबलमा युवा अवस्थादेखि नै चर्चामा आएका विमलले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै आफ्नो पहिचान बनाएका थिए। उनको खेल जीवनको सुरुवात बुटवलबाट भएको थियो भने त्यसपछि काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थिए।

केही समयअघि विमल अस्ट्रेलिया गएको समाचार सार्वजनिक भएको थियो। अस्ट्रेलिया गएपछि उनले फुटबल करियर अन्त्य गर्ने घोषणा गरेका हुन्।

विमलको घोषणासँगै नेपाली फुटबलमा उनको आगामी भूमिकाबारे चासो बढेको छ। यद्यपि, उनले खेल जीवनपछि के गर्ने भन्ने विषयमा आफ्नो पछिल्लो वक्तव्यमा विस्तृत जानकारी दिएका छैनन्।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्