क्यानडासँग नेपाल २४ रनले पराजित, ओमानविरुद्धको खेल निर्णायक
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली ४६ ओभरमा २३२ रनमा समेटिएपछि नेपालले हार बेहोरेको हो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ११२ बलको सामना गर्दै चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१, आसिफ शेखले २० तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। करण केसी १७ रनमा अविजित रहे।
क्यानडाका बलरमध्ये सुखजिन्दर सिंहले तीन विकेट लिए भने कलिम सना र शील पटेलले समान दुई विकेट हात पारे।
त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका ओपनर युवराज सम्राले शतकीय पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। उनले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो।
क्यानडाका आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रनको योगदान दिए। नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए। कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट हात पारे।
क्यानडासँगको हारपछि नेपाल विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। शीर्ष छ स्थानमा रहनका लागि नेपाललाई अब ओमानविरुद्धको अन्तिम खेलमा जित आवश्यक परेको छ। नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ। त्यसैले लिग–२ मा नेपालको स्थान कायम गर्ने लक्ष्यका लागि ओमानविरुद्धको खेल निर्णायक बनेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणी लेख्नुहोस्