Logo

पाँच दिनमा मेडिकल प्रवेश परीक्षा, कात्तिक १४ देखि सुरु हुने

ललित सन्देश २०८३ कार्तिक ९, ३:२२ PM
पाँच दिनमा मेडिकल प्रवेश परीक्षा, कात्तिक १४ देखि सुरु हुने

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीले आगामी कात्तिक १४ देखि १८ गतेसम्म परीक्षा दिनुपर्ने भएको छ। चिकित्सा शिक्षा आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि पाँच दिनसम्म सञ्चालन हुने प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १४ गते एमबीबीएस र १५ गते बीडीएस कार्यक्रमको परीक्षा सञ्चालन हुनेछ। चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यी परीक्षा महत्त्वपूर्ण मानिन्छन्।

त्यसैगरी, कात्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी र बी परफ्युजन टेक्नोलोजी कार्यक्रमका प्रवेश परीक्षा हुनेछन्। कात्तिक १७ गते भने बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मेसी, अप्टोमेट्री र बीपीटी कार्यक्रमका परीक्षार्थी सहभागी हुनेछन्।

प्रवेश परीक्षाको अन्तिम दिन कात्तिक १८ गते बीपीएच कार्यक्रमको परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार सबै कार्यक्रमका परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्। निर्धारित समयतालिकाअनुसार परीक्षार्थीले आफूले आवेदन दिएको शैक्षिक कार्यक्रमको परीक्षा मिति यकिन गरी तयारी गर्नुपर्नेछ।

चिकित्सा शिक्षा आयोगले परीक्षा दिने विद्यार्थीलाई तोकिएको मिति र समयमा उपस्थित हुन तथा परीक्षासम्बन्धी आवश्यक निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रवेश परीक्षाको समयतालिका सार्वजनिक भएसँगै चिकित्सा तथा स्वास्थ्यसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीले आफ्नो तयारीलाई सोहीअनुसार अघि बढाउन सक्नेछन्।

DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्