नेपाली टेनिसमा नयाँ इतिहास रच्दै अभिषेक बास्तोला
अन्तर्राष्ट्रिय व्यावसायिक टेनिस सर्किटमा नेपालको नाम चम्काउँदै आएका अभिषेक बास्तोलाले बेङ्ग्लोरमा भइरहेको युटिआर प्रो टेनिस टुरमा लगातार दुई शानदार जित निकाल्दै फेरि एकपटक देशको शिर उचो बनाएका छन्। घरेलु भूमिमा पर्याप्त प्रतिस्पर्धात्मक अवसरको अभावका बाबजुद अन्तर्राष्ट्रियस्तरमा नेपालको बलियो उपस्थिति जनाउँदै आएका बास्तोलाले यसअघि पनि नेपाली टेनिसमा अनेकौं ऐतिहासिक कीर्तिमानहरू कायम गरिसकेका छन्।
उनले आधिकारिक इन्टरनेसनल टेनिस फेडेरेसन (आईटीएफ) को विश्व वरियता प्राप्त गर्ने पहिलो नेपाली पुरुष खेलाडी बन्नेदेखि लिएर एटीपी च्यालेन्जर टुरको छनोट चरणमा खेल्ने पहिलो नेपालीको कीर्तिमान बनाएका छन्। यसबाहेक, उनले चारवटा एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरिसकेका छन् भने डेभिस कपमा नेपालका तर्फबाट सर्वाधिक एकल जित निकाल्ने रेकर्ड पनि उनकै नाममा रहेको छ। युटिआर टुरमा देखिएको उनको यो ताजा सफलताले अन्तर्राष्ट्रिय टेनिसमा नेपालको क्षमता र सम्भावनालाई फेरि एकपटक प्रमाणित गरेको छ।

टिप्पणी लेख्नुहोस्