जनकपुरधाम-ढल्केबर छ लेन सडकमा मधेश प्रदेशकै पहिलो आकाशे पुल निर्माण सम्पन्न
जनकपुरधाम, धनुषा — धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगर बजारमा जनकपुरधाम-ढल्केबर छ लेन व्यापारिक सडक खण्डअन्तर्गत निर्माण भइरहेका दुईवटा पैदलयात्री आकाशे पुल (Overhead Bridge) को निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। मधेश प्रदेशमै पहिलो पटक निर्माण गरिएका यी आधुनिक प्रविधिका आकाशे पुलहरूमा हाल रङरोगन तथा सौन्दर्यीकरणका अन्तिम कामहरू भइरहेका छन्। डिभिजन सडक कार्यालय मुजेलिया, जनकपुरधामका अनुसार सम्पूर्ण प्राविधिक तयारी पूरा गरी यी पुलहरूलाई छिट्टै सर्वसाधारणको प्रयोगका लागि औपचारिक रूपमा खुला गर्ने तयारी गरिएको छ।
व्यस्त सडकमा पैदलयात्रीहरूको आवतजावतलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सडक विभागले महेन्द्रनगरको महिला विकास चोक र सखुवा चोक तथा लक्ष्मीनिया गाउँपालिकामा गरी कुल तीनवटा आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको थियो। डिभिजन प्रमुख इन्जिनियर दरोगा प्रसाद साहका अनुसार महेन्द्रनगरका दुईवटा संरचना पूर्ण रूपमा तयार भइसकेका छन् भने लक्ष्मीनियामा निर्माण भइरहेको तेस्रो पुलको काम पनि द्रुत गतिमा अघि बढिरहेको र आउँदो मङ्सिर मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रत्येक पुल ५.६ मिटर अग्लो, २९.४ मिटर लामो र ३ मिटर चौडा रहेको छ। मधेश प्रदेशकै ऐतिहासिक पूर्वाधारका रूपमा हेरिएका यी पुलहरू सञ्चालनमा आएपछि महेन्द्रनगर बजार क्षेत्रको सहरी सौन्दर्यता बढ्नुका साथै सर्वसाधारणलाई सडक पार गर्न निकै सहज हुनेछ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्